नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चीनले चौथो इन्टरनेशनलको स्थापनाका लागि पहल गर्नुपर्ने औल्याएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालसहित दक्षिण एसियाली मुलुकका कम्युनिस्ट पार्टीसँग आयोजना गरेको एक भर्चुअल अन्तक्रिया कार्यक्रममा महासचिव विप्लवले यस्तो प्रस्ताव राखेका हुन् ।

महासचिव विप्लवले आजको विश्वमा दुई विश्व दृष्टिकोण र दुई विश्वव्यवस्था कायम रहेको बताए ।

‘आज दुई विश्व दृष्टिकोण र दुई व्यवस्था छन्। एउटा समाजवादी र अर्को पुँजीवादी। विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी खेमाले गर्दै आएको छ र गर्नु परेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदुषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ,’ उनले भने।

विप्लवले कम्युनिस्ट पार्टीहरुले विश्व समाजवादका लागि अझै राम्रो योगदान गर्नु पर्ने खाँचो औँल्याए।

‘चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ व्यवस्थाको जुन दृष्टिकोण राखेको छ, त्यो हामीलाई ठिक लागेको छ। हामी नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेका छौँ,’ उनले भने।

नेपाली जनता समाजवादको पक्षमा रहे पनि समाजवाद स्थापना गर्ने बाटोमा थुप्रै चुनौतीहरू रहेको उनले बताए।

‘समाजवादलाई रोक्नका लागि देशी तथा विदेशी पुँजीवादी प्रवृत्तिले अनेक हस्तक्षेप गरिरहेको छ। हामी नेपालमा परिवर्तन, शान्ति, स्वाधीनता, मित्रता र समृद्धि चाहन्छौँ। यसमा सबैको सहयोग रहोस भन्ने हामी चाहन्छौँ,’ उनले संक्षिप्त मन्तव्यमा भने।

स्मरणरहोस् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा माक्र्सको नेतृत्वमा सन् १८६४ मा पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रिय इन्टरनेशनलको स्थापना भएको थियो । भने एंगेल्सको नेतृत्वमा सन् १८८९ मा दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माण भएको थियो ।

लेनिनको नेतृत्वमा सन् १९१९ मा दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माण गरिएको थियो । स्तालिनले सन् १९४३ मा विघटन गरेपछि अहिले विश्वमा चौथो कम्युनिस्ट इन्टरनेशनलको स्थापनाबारे बहस चलिरहेको छ ।

यही बेला चीकपासँगको अन्तरक्रियामा नेकपाका महासचिव विप्लवले चौथो कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माणको प्रस्ताव गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न १९ औँ केन्द्रीय समितिको छैठौँ बैठकले गरेका निर्णयबारे जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना भएको हो। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेता सङ थाओले बैठकका निर्णय चिनियाँ भाषामा सुनाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार