
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
आज विराटनगरमा आफ्नो पार्टीद्धारा आयोजित जनसभालाई संवोधन गर्दै महासचिव विप्लवले सहमतिअनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गर्न सरकारलाई आग्रह गरेका हुन् ।
सहमति पनि एक ढंगको कानुन हो भन्दैं महासचिव विप्लवले सरकारले सहमति कानुन उल्लंघन गरेको आरोप लगाए ।
‘सहमति पनि कानुन हो । सहमति कार्यान्वयन गरिएन भने त्यो गंभीर कानुनको उल्लंघन हो ।’ महासचिव विप्लवले भने ।
आफ्ना पार्टीका जेलमा रहेका नेता कार्यकता रिहा नगरे संघर्ष गर्ने विप्लवले सरकारलाई चेतावनी दिए ।
महासचिव विप्लवले भने, ‘हाम्रा साथीहरुलाई तुरुन्त छोड्नुहोस् । यो भयो भने हामी संघर्ष गर्छौ । तर युद्ध होइन । राज्यले युद्धको बाटो नसमातोस् ।’
अहिलेको संसदीय व्यवस्था चल्दैन भनेर संसदीय दलका नेताहरुले नैं भनिरहेको बेला अब व्यवस्था बदल्ने जनमतसंग्रहको चुनाव आवश्यक रहेको विप्लवको दावी छ ।
‘यो व्यवस्था चल्दैन भनेर देउवा, ओली, प्रचण्ड सबैले भन्ने गरेका छन् ।’ महासचिव विप्लवले भने, ‘त्यसकारण अब व्यवस्था बदल्ने जनमतसंग्रहको चुनाव हुनुपर्छ । यो व्यवस्थाले शान्ति र समृद्धि दिदैन ।’







