
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञानेन्द्रसँग आफुले ५ बुँदे सहमति गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले झूट, बेइमानी र धोकाको अर्को नाम केपी ओली भएको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको दाबी गरेका थिए ।
दाहालले ओलीको आरोप खण्डन गर्दै भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’
एमाले अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा दाहालसँगको सहमतिमै तत्कालीन राजा ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाएको बताएका थिए । ओलीले उक्त सहमतिबारे दाहाल र पूर्वराजा ज्ञानेन्द्रले बोल्नुपर्ने बताएका थिए । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’








