
आठ दलीय मोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज राजधानीमा विरोध प्रदर्शन गरेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले उक्त विरोध प्रदर्शन तथा विराेधसभा गरेका छन्।
‘राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मूल नारासहित गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट पारित गराउने उद्देश्यले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गरेका थिए। सोही बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेपछि गठबन्धनले एमसीसीविरोधी अभियानलाई तीव्र बनाएका हुन्।
गठबन्धनले एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको छ। गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सर्वदलीय बैठकमै एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गरेको थियो।







