
अमेरिकी सहयोग सम्बन्धी एमसीसी संसदमा अगाडि बढाउने पहल भइरहँदा प्रचण्डले केपी ओलीमाथि गठबन्धन फुटाउन खोजेको आरोप लगाए । ओलीले देउवालाई एक्लै सरकार चलाउन साथ दिने ससर्त प्रस्ताव गरेको विषय खुलाए । जसमा माओवादी र नेकपा एसलाई सरकारबाट हटाउने विषय रहेको उनको भनाई थियो । प्रचण्डको यो भनाई त्यसै आएको होइन ।
राजनीतिक घटनाक्रम यसरी बढिरहेको छ कि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी निरन्तर बढिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने विषयमा देउवा विरोधमा देखिएका छन् । प्रचण्ड र माधव नेपाल जबरालाई हटाउने पक्षमा भित्र भित्र देखिएका छन् । उनीहरु निकट कानुन व्यवसायीहरु बढी जबराविरुद्ध उभिएका छन् ।
अर्कोतर्फ, एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन् । देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । ओलीले एमसीसीलाई आफ्नो राजनीतिक अस्त्र बनाएका छन् । एमसीसी पारित गर्न सर्तसहित तयार देखिएका छन् । एमसीसीकै मुद्दाले देउवा र ओलीलाई नजिक बनाउँदैछ ।
एमसीसी पारित गर्ने पक्षमा प्रचण्ड र माधव नेपाल नदेखिए ओलीको साथ लिएर देउवा अगाडि बढ्ने सम्भावना विकास हुँदैछ । ओली त्यही चाहन्छन् । यसकारण देउवाको ओलीसँग निकटता बढिरहेको छ ।-







