नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन ।

पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए ।

माओवादीको अन्तरिम विधान २०७८ अनुसार केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर प्रदेशमा नौ सदस्यीय र स्थानीय तहमा सात सदस्यीय पदाधिकारी रहेकाले केन्द्रीय समितिमा पनि पदाधिकारी संख्या बढाउनुपर्ने मत माओवादीभित्र छ ।

केन्द्रमा पनि पदाधिकारी संख्या बढाएर ९ वा ११ सदस्यीय बनाउन कसरत भइरहेको नेताहरु बताउँछन् । नेताहरूका अनुसार स्थानीय तह र प्रदेश समितिमा भन्दा केन्द्रमा पदाधिकारीको संख्या बढाउने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार