
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले अमेरिकाले प्रजातन्त्रका नाममा विश्वभर आतंकवाद निर्यात गरिरहेको गंभीर आरोप लगाएका छन् ।
अमेरिकाले विश्वभर लोकतन्त्र संचालन गर्ने नाममा उसले युद्ध, आतंक, लुटपाट र अशान्ति मात्र सिर्जना गरिरहेको नेता बास्तोलाको आरोप छ ।
नेपाल चीन जनमैत्री प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा बोल्दैं नेता बास्तोलाले अमेरिकामा लोकतन्त्र भएपनि त्यो लोकतन्त्र सीमित मान्छेको हातमा रहेको टिप्पणी गरे ।
माक्र्सको भनाई उदृत गर्दै बास्तोलाले पुँजीवादले हमेशा सैतानको बीउँ छर्ने भन्दैं अहिले अमेरिकाले विश्वभर सैतान र आतंकको बीउँ छरिरहेको आरोप लगाए ।
अमेरिकाको डेमोक्रेसी भनेको लेनिनले भनेजस्तैं सीमित बुर्जुवाहरुको अधिनायकत्व रहेको शासन प्रणाली रहेको नेता बास्तोलाको दाबी थियो ।
कार्यक्रममा एमाले नेता भीम रावल, माक्र्सवादी अध्येता डा. खगेन्द्र प्रसाई, वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायत नेताहरुले आआफ्नो टिप्पणी राखेका थिए ।








