
नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि तीन शर्त राखेका छन्।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णयलगायतका शर्त राखेका छन् ।
त्यसका लागि माओवादी केन्द्रले आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदामा शर्त अघि सारे ।
पहिलो : जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्छ ।
दोस्रो : हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु,’ गजुरेलले भने ।
तेस्रो : राष्टिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘अहिले चलिराखेको विवाद जुन छ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला,’ उनले भने, ‘हामीले गुमाएका भूभागहरु नक्सामा त हासिल गर्यौं । वास्तविक रुपमा हासिल गर्न सकेको छैनौं । कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्न प्रतिवद्धता होस् ।’







