
नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले निर्वाचन प्रक्रियाबाट मात्र राम्रो नेतृत्व आउन नसक्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “माओवादी केन्द्रको २९९ सदस्यीय केन्द्रीय समिति मोटामोटी तयार भइसकेको छ । अहिलेको अवस्थामा सबैजसो राम्रै कार्यकर्ता त्यसमा रहन्छन् । चुनावी प्रक्रियामा गएर मात्र राम्रो नेतृत्व पाउँछ भन्ने लाग्दैन । कांग्रेस, एमालेको चुनावी प्रक्रियाबाट देखिइसकिएको छ । एमालेमा घनश्याम भुसाललाई उपाध्यक्षमा हराइदिए । माधव नेपाललाई छाडेर गएका घनश्यामलाई हराउनु हुन्थ्यो त ?”
नेता गजुरेलले माओवादी केन्द्रको केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने बताए । उनले थपे, “अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा कार्यकर्ताले दृढ समर्थन गरे । नेतृत्वप्रति आम कार्यकर्ताको विश्वास पैदा भएकाले हामी सहमतिमै नेतृत्व चयन गर्छौं । हामीले समावेशितालाई प्राथमिकता दिएका छौं । अरु पार्टीले ६० खुला र ४० समानुपातिक गरेका थिए, हामीले ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी गरेका छौं ।”
महाधिवेशन चलेको ८ दिन भैसक्यो, नेतृत्व चयन गर्न यतिका दिन लागाउनेले देश कसरी चलाउनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता गजुरेलले भने, “हो अलिकति समय लाग्यो । राजनीतिक प्रस्तावमा निकै लामो छलफल र बहस भयो । ५-७ दिन छलफल हुनु कुनै ठूलो कुरा होइन । महाधिवेशन आजै टुंगिन्छ ।”
माओवादी केन्द्र पार्टी रुपान्तरणको दिशातिर लागेको दाबी पनि उनले गरे । उनले थपे, “रुपान्तरण कठिन छ तर अरु उपाय छैन । हाम्रो पार्टी सदस्यता नै ८ लाख पुगिसक्यो । अब पहिलेका तुलनामा राम्रो हुन्छ ।”







