
नेकपा (माअोवादी केन्द्र)को नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि यो अन्तिम अवसर हुने बताएका छन् ।
०४६ सालमा नेकपा मसालको महामन्त्री भएर नेतृत्व सुरु गरेका प्रचण्डले माअोवादी केन्द्रमा पुन: अर्को कार्यकालको नेतृत्व पाएका छन् ।
“आठौँ महाधिवेशनबाट साथीहरूले मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । यो ऐतिहासिक जिम्मेवारी देश र जनतामा समर्पित गर्नेछु,” अध्यक्ष प्रचण्डले भने, “यो मेरालाई अन्तिम अवसर हो देश र जनताका लागि काम गर्ने । सम्भवत: यो नै मेरा लागि अन्तिम चुनौती पनि हुने छ ।”
उनले आफ्ना तर्फबाट अन्तिम अवसर र चुनौती भएको बताउँदै अर्कोपटक आफ्नो इच्छाले अध्यक्षको प्रत्यासी नबन्ने संकेत गरेका छन् ।
अध्यक्ष प्रचण्डले आफू लामो समय अध्यक्ष भएर फरक भूमिकाको अपेक्षा गरेपनि राजनीतिक परिस्थितिले त्यसो गर्ने छुट नदिएको भन्दै आफ्नो नेतृत्वको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका छन् ।







