
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ।
माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन: अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो।
काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो।
‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: चयन हुनु भएकोमा प्रचण्डलाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ।
नेपालमा पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त विभाजित छ। नेकपा (माओवादी केन्द्र) ले उक्त सम्झौता परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने पक्षमा छ।







