तत्कालीन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्धमा बरफ जमेको दुई वर्ष भइसक्यो । तर, अझै बफर पग्लिने सम्भावना छैन ।

एमाल–माओवादी एकतापछि बनेको नेकपामा अन्तरसंघर्ष उत्कर्षमा पुगेसँगै सुरु भएको ओली–प्रचण्डबीचको चिसोपन ओलीको असंवैधानिक कदम, नेकपा खारेज हुँदै सत्ताबाट ओलीको अपमानजनक बर्हिगमन र एमाले विभाजसम्म पुग्दा झनै चिसियो । त्यसको असर संसदमा देखिँदै छ ।

ओली–प्रचण्ड संवादहिनताको अवधि लामो भइसक्यो । पछिल्लोपटक नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा लोकलाई देखाउन भए पनि ओली–प्रचण्डले ‘मुस्कान संवाद’ चाहिँ गरे । तर, त्यो सामान्य औपचारिकता थियो । ओली–प्रचण्ड खटपटको त्यहाँदेखि यहाँसम्म हेर्दा ठूलो बाध्यात्मक घटनाक्रम नभएसम्म दुई शीर्षबीच संवादहिनता तोडिने सम्भावना कम छ ।

प्रचण्ड–ओलीबीच पछिल्लो समय ‘वाकयुद्ध’ चलिरहेको छ । त्यो पनि व्यक्तिगतस्तरमै एकअर्कालाई गाली गरिरहेका छन् । शुक्रबार मात्रै प्रचण्डले पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई ‘आगोसँग खेल्दा बिगतमा जे भयो आगामी दिनमा पनि त्यस्तै हुनेछ, त्यसैले आगोसँग नखेल्नु’ भन्दै चेतावनी दिए ।

केही दिन अगाडि मात्र ओलीले प्रचण्डलाई तथ्यहीन आरोप लगाए । जनयुद्धको क्रममा प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रबीच गोप्य सहमति भएको तत्थ्यहीन आरोप लगाउन ओली पछि परेनन् । त्यसो त अलि अगाडि मात्र गणतन्त्र समाप्त पार्न ओलीले ज्ञानेन्द्रसँग गोप्य वार्ता गरेको प्रचण्डले आरोप लगाएका थिए ।

यसरी नै प्रचण्ड र ओलीबीच नानाथरी आरोप प्रत्योरोप चलिरहेको छ । एकतापछि एउटै पार्टीको अध्यक्ष हुँदा बाहेक यी दुई नेताबीच आरोप प्रत्यारोपकै सम्बन्ध छ । पछिल्लो श्रृङ्खला त्यसैको निरन्तरता मान्दा पनि हुन्छ ।

एमालेलाई संवादमा ल्याउने सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले विभिन्न उपाय खोजिरहेको देखिन्छ । केही दिन अगाडि सर्वदलीय बैठक बोलाउन प्रधामन्त्रीलाई सुझाव दिए, सर्वदलीय बैठक पनि सम्पन्न भयो । प्रचण्ड अहिले ओलीलाई फकाउन ओली निवास बालकोट जानसम्म तयार भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार