
विप्लव नेतृत्वको नेकपाले नेपाली भूमिमा भइरहेको अतिक्रमण रोक्न दक्षिणी छिमेकी भारतलाई चेतावनी दिएको छ।
नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले सोमबार वक्तव्य जारी गरेर भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुपर्ने बताएका हुन्।
भारतले नेपाली भूमिबाट सेना फिर्ता नलगी चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको सडक चौडा बनाउने र विस्तार गर्ने घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले चिन्ता जाहेर गरेको छ।
भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो विस्तार गर्ने निर्णय हुँदा पनि नेपाली कांग्रेस नेतृत्वको सरकार चुप लागेर बस्नु आपत्तिजनक रहेको कञ्चनले बताएका छन्।
उनले देउवा नेतृत्वको सरकारले भारतको दलाली गरिरहेको बताउँदै उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय रहेको पनि भनेका छन्।
विप्लव नेतृत्वको नेकपाले तत्काल कूटनीतिक पहल गरेर भारतबाट भइरहेको अतिक्रमण रोक्न आह्वान गरेका छन्।
‘हाम्रो पार्टी भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दछ। नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछ’, उनले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्नबाट भारतले रोक्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो। कूटनीतिक पहलबाट यी मुद्दा सल्ट्याउन हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।’








