जसपा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच देखिएको विवादको बाछिटा प्रदेश २ मा पुगेका छन्। दुई नेताबीचको कलहले गर्दा महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भट्टराई पक्षधर नेता तथा कार्यकर्ताले बहिस्कार गरेका छन्।

२६ पुसमा शुरू भएको तीनदिने प्रशिक्षण जसपाका अर्का नेता महेन्द्र राय यादव पक्षधर नेताहरूले समेत बहिस्कार गरेका छन्। कृषि तथा पशुपन्क्षी विकास मन्त्री समेत रहेका यादव पक्ष पनि पार्टी संस्थापनसँग असन्तुष्ट देखिन्छन्।

महन्थ ठाकुर जसपा अध्यक्ष हुँदा एकै ठाउँमा उभिएका नेताहरू उनको बहिर्गमनपछि आरोप-प्रत्यारोपमा लागेका छन्। ठाकुरले गत भदौमा लोकतान्त्रिक समाजवादी दल गठन गरिसकेका छन्।

जसपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। ठाकुर नयाँ पार्टीमा लागेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ। त्यसमा आफूलाई लैजानुपर्ने भट्टराईको दाबी छ।

उनी पक्षधर नेताहरू भट्टराईलाई अर्को अध्यक्षको जिम्मेवारी दिएर यादवको हैसियतमा राख्न चाहन्छन्। तर, यादव पक्षधर नेताहरू भने भट्टराईलाई त्यो पद नदिनैका लागि विधान संशोधन गरेर एउटा अध्यक्षको व्यवस्था गर्नुपर्ने पक्षमा देखिएका छन्।

जसपाको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा ११ वटा विषयमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। २६ पुसमा दुई वटा विषयमा प्रशिक्षण भइसकेको छ भने नौ वटा विषयमा २७ र २८ पुसमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

कांंग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाको तर्फबाट मन्त्री छनोट गर्ने जिम्मेवारी अध्यक्षद्वय यादव र भट्टराई तथा वरिष्ठ नेता अशोक राईलाई दिइएको थियो। तर, मन्त्री छनोट यादवले मात्रै गरेको भट्टराई पक्षका नेताहरू बताउँछन्।

त्यस्तै सर्वोच्च अदालतको परमादेश अनुसार २९ असारमा गठित मन्त्रिपरिषद्‌मा जसपाबाट राजेन्द्रकुमार श्रेष्ठ, महेन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादव मन्त्री छन्।

संघीय सरकारमा सहभागी हुने बेलादेखि नै अध्यक्ष यादवले एकलौटी निर्णय गर्न थालेको असन्तुष्ट नेताहरू बताउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार