एमालेको प्रभावशाली जनवर्गीय संगठन युवा संघ चरम विवादमा फसेको छ । फागुन ११ गते महाअधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटव्यूरो सदस्य महेश बस्नेत हावी भएपछि विवाद उत्पन्न भएको हो ।

युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले सबैलाई मिलाएर बैठक सञ्चालन गर्न र आयोजक कमिटी बनाउन दिएको निर्देशनलाईसमेत बस्नेतले बेवास्ता गर्दै महाआयोजक कमिटीको संयोजकमा किरण पौडेल, सहसंयोजक सञ्जीब झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरी केसी लगायतको नाम घोषण गरेर आएपछि असन्तुष्ट रहेका युवा संघका नेताहरुले बस्नेतकै कारण विवाद भएको भन्दै उजुरी गरेका छन् ।

उनीहरुले शनिबार साँझ संगठन विभाग प्रमुख खगराज अधिकारीलाई भेटेर बस्नेतको एकाधिकारवादबारे जानकारी गराएका छन् । साथै उनीहरुले महेश बस्नेतकै कारण संगठन वैचारिकरुपमा धरापमा परेकोसमेत बताएका थिए ।

उपाध्यक्षहरु रोशन बस्नेत, अमित लामा, उर्मिला सुनुवार, किरण गौतम, उज्ज्वल घिमिरे, रमेश तिवारी सचिव कुमार हुँमागाई, सुमित्रा बोगटी लगायतका दुई दर्जन नेताहरुले बैठक बहिष्कार गरेर मोर्चा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, संगठन विभाग खगराज अधिकारीलाई जानकारी गराएका छन् । उनीहरुले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरसमेत जानकारी गराउने भएका छन् ।

‘महेश बस्नेतको प्राइभेट कम्पनी जस्तो बनाउन खोजियो युवा संघ उनको कम्पनी होइन, प्रतिनीधि छनोटदेखि महाधिवेशन आयोजक कमिटी गठनसम्म उनी हाबी भए, संघ अध्यक्ष किरण पौडेलचाहि बस्नेतका सहयोगी मात्रै देखिए’, बहिष्कार गरेका एक नेताले भने ।

बैठक बहिष्कार गरेर आएक नेताहरुले आयोजक कमिटीमा राखिएका नाम नसच्याए आइतबार पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी बनाउने जनाएका छन् ।

‘अहिले संगठन विभाग प्रमुखलाई भेटेर सबै जानकारी गराएका छौ भोली पार्टी अध्यक्षलाई भेट्नेछौ र उहाँले के भन्नुहुन्छ हेरौं त्यसपछि महेश बस्नेतका विरुद्ध पार्टीभित्र लडाइ गर्नुपर्ने अवस्था आएमा त्यसको तयारी गर्नेछौ’, असन्तुष्ट मध्येका एक नेताले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार