अभिनय यात्राकै क्रममा सामाजिक कार्यमा संलग्न जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो समय विवादमा तानिएका छन् । उनीहरुले नै स्थापना गरेको सामाजिक संस्था ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको रंगशालाको हालसम्मको खर्च र भौतिक प्रगति विवरणका आधारमा अनियमितताको आशंका गरिएको छ ।

केही अघि भरतपुर महानगरले रंगशालाको आर्थिक र भौतिक प्रतिवेदन तयार पार्दै युवा तथा खेलकुद मन्त्रालयमा सो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा रंगशाला निर्माणमा अनियमितताको आशंका गरिएको हो ।

यसैबीच रंगशाला निर्माणमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । यद्यपि, भरतपुर महानगरपालिका, धुर्मुस सुन्तली फाउन्डेशनकातर्फबाट स्वयं सीताराम कट्टेलले रंगशाला निर्माणको सम्बन्धमा अन्तिम रिपोर्ट तयार नभएको बताउँदै आएका छन् ।

सीताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माणको वास्तविकता एकातिर रहेको तर बहकाई अर्काेतिर भइरहेको बताए । ‘रंगशाला निर्माणबारेमा पुस मसान्तसम्मको पूर्ण लेखा परीक्षण भइरहेको छ । यो आएपछि मात्र वास्तविक खर्चको विवरण बाहिर आउँछ,’  उनले भने, ‘त्यो नआएसम्म मैले हचुवाको भरमा केही बोल्न मिल्दैन । त्यसको रिपोर्ट आज वा भोलि आउँछ, अनि सबै कुरो बोलौंला ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका विषयमा आफूले अहिले केही नबोल्ने उनको भनाइ छ । ‘किनभने बोल्न थालेपछि धेरै कुरा बोल्नुपर्ने हुन्छ । त्यसैले केही दिनमा एकैचोटी बोलौंला भन्ने लागेको छ,’ उनले भने, ‘अहिले सञ्चो पनि छैन, घरमै रेस्ट गरिरहेको छु । पहिले स्टेटमेन्ट जारी गर्दछु । पूर्ण प्रतिवेदन आएपछि सबै विषयमा एकएक गरेर बोल्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार