सुमन नेपाली,कपिलवस्तु

कपिलवस्तुको शिवगढीमा जनसङ्ग्रहालय निर्माणाधिन रहेको छ । नेपालको परिवर्तनकारी सङ्घर्षको क्रममा राणाविरोधी आन्दोलनदेखि, पञ्चायत विरोधी आन्दोलन, झापा विद्रोह, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन, जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्मका महान सहिदहरूको स्मृति र सम्मानमा उहाँहरुको प्रतिमा र ती महान सहिदहरूको जीवनसित जोडिएका इतिहासहरूको अभिलेखीकरण गर्ने उद्देश्य सहित जनसङ्ग्रहालयको निर्माण गर्न लागिएको हो ।

नेपाली क्रान्तिमा बीरतापूर्ण बलिदान गरेका योद्धाहरू, बेपत्ता तथा घाइते योद्धाहरूको योगदानलाई पुँजीकृत गर्ने र मानवजाति र प्रकृतिमाथि पुँजीवादी उत्पीडन र दोहनविरुद्ध सङ्घर्ष गर्न सिङ्गो समाज र नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले जनसङ्ग्रहालयको स्थापना गर्न लागिएको हो । जनसङ्ग्रहालय बलिदानीपूर्ण सङ्घर्ष र क्रान्तिको प्रतीक हो, वीरताको द्योतक हो र महान योद्धाहरुले गरेको बलिदानको पुञ्ज पनि हो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय योजनामा जनसङ्ग्रहालयको निर्माण हुन लागेको हो । सङ्ग्रहालय निर्माणका लागी पार्टी केन्द्रीय सदस्य सञ्जीवको अध्यक्षतामा ‘जनसङ्ग्रहालय तथा सहिद स्मृतिपार्क निर्माण तथा व्यवस्थापन समिति’ बनेको छ । शिवराज नगरपालिका ९, प्रतापपुरस्थित बिजगौरियाको १० बिघा क्षेत्रफलमा जनसङ्ग्रहालय बन्ने समितिका अध्यक्ष सञ्जीवले बताउनुभयो । समितिको सदस्यहरुमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, बेपत्ता योद्धा परिवार समाजका इन्चार्ज आस्था, जनक्रान्तिका महान सहिद परिवार संगठनका केन्द्रीय अध्यक्ष खुमा सुवेदी, बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष रामबहादुर थापा र सहिद परिवार रामबहादुर भण्डारी रहनुभएको छ ।

जनसङ्ग्रहालय किन ? भन्ने लालदिशाको प्रश्नमा अध्यक्ष सञ्जीवले भन्नुभयो, “महान् सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान गर्नु, उनीहरूको बलिदानी भावनाबाट शिक्षा लिनु तथा जनतालाई भविष्यप्रति आशा जागृत गर्नु नै जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माणको मुख्य उद्देश्य हो ।”

जनसङ्ग्रहालयमा राणाविरोधी आन्दोलनका क्रममा चारजना सहिदहरु गंगलाल, दशरथ, धर्मभक्त र शुक्रराजदेखि लखन थापा मगर हुँदै तत्कालीन प्रजापरिषदका सहिदहरुदेखि किसान आन्दोलनको नेता भीमदत्त पन्त हुँदै पञ्चायत विरोधी आन्दोलनका क्रममा जीवन बलिदान गरेका ४५० भन्दा बढी सहिदहरु, जनयुद्धका क्रममा सहादत प्राप्त गरेका ८ हजार ५ सय र एकीकृत जनक्रान्तिका १२ जना सहिदहरु गरी करिब ११ भन्दा बढी ती महान सहिदहरु र ३ हजारभन्दा बढी बेपत्ता योद्धाहरुको स्मृतिमा जनसङ्ग्रहालय बनाउने अध्यक्ष सञ्जीवले लालदिशालाई बताउनुभयो ।

२०७७ फागुनको दोस्रो साता सम्पन्न नेकपाको आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले जनसङ्ग्रहालय निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । तर यसको शिलान्यास भने सरकारले नेकपामाथि प्रतिबन्ध लगाउनु भन्दा अगाडि अर्थात् २०७५ फागुनमा नेकपाका तत्कालीन पोलिटब्युरो सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज क.चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले गर्नुभएको थियो । जनसङ्ग्रहालयको बृहत्तर योजनाका लागि डीपीआरको अन्तिम चरणमा पुगेको छ । यसको आधारभूत व्यवस्थापकीय पूर्वाधारअन्तर्गत निवासका लागि चारकोठे भवन तयार भएको छ । सङ्ग्रहालय निर्माणका लागी आर्थिक व्यवस्थापनबारे सञ्जीवले भन्नुभएको छ,“हामीले आन्तरिक पार्टीपंक्तिको आर्थिक र भौतिक रूपमा परिचालन, अग्रभागीय जवस÷मोर्चा तथा सम्पूर्ण जवस÷मोर्चाहरूको परिचालन, देश र जनताको मुक्ति र स्वाधीनता चाहने उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य विभिन्न सहयोगहरूका अतिरिक्त जनपरिचालनको माध्यमवाट यो परियोजना सम्पन्न गरिनेछ ।”

सङ्ग्रहालयको भौतिक संरचनामा नेपालको सांस्कृतिक पहिचान झल्कने आधुनिक भवन बन्ने, जहाँ नेपालका विभिन्न जाति, जनजाति तथा क्षेत्र र समुदायको संस्कृति झल्कने प्रतिमूर्तिहरूका साथै उनीहरूले प्रयोग गर्ने सामग्रीहरू राखिने, यसले नेपालको सुदृढ राष्ट्रिय एकतालाई प्रतिबिम्बित गर्ने सञ्जीवले बताउनु भएको छ । उहाँले सङ्ग्रहालयको अग्रभागमा देश र जनताको मुक्ति र परिवर्तनका लागि विभिन्न समयमा सञ्चालन गरिएका राजनीतिक आन्दोलन, जनसङ्घर्ष र जनयुद्धमा बलिदान दिनुहुने महान् सहिद तथा बेपत्ता योद्धाहरूको प्रतिमूर्ति राखिने सञ्जीवले बताउनु भएको छ ।

नेकपाले नेपालको राजनीतिक आन्दोलनमा भएका धोका, गद्दारी तथा दलालीका तमाम नकारात्मक विरासतलाई भत्काउँदै वीरता, बलिदान तथा राष्ट्रिय स्वाभिमानको गौरवपूर्ण भावनालाई उच्च बनाउँदै नेपाल राष्ट्र र नेपाली जनताको मुक्ति र परिवर्तनको राजनीतिक अभिलाशा पूरा गर्ने प्रणका रूपमा जनसङ्ग्रहालय निर्माण गर्न लागिएको बताएको छ । नेकपाले जनसङ्ग्रहालय निर्माणका लागी आर्थिक तथा भौतिक सहयोगको अपिल समेत गरेको छ ।

नेकपाले कालीकोट, ललितपुर, चितवन, पाँचथरलगयत जिल्लाहरूमा समेत विभिन्न नमुना निर्माणकार्य गरिरहेको छ । यसअघि रोल्पाको थबाङमा एकहजार क्षमताको सहिद स्मृति भवन निर्माण गरेको थियो । नेकपाले जनसङ्ग्रहालय, सहिद पार्कलगायत निर्माण कार्यलाई देशव्यापी बनाउने बताएको छ ।

–सुमन नेपाली/विहानी मगर

स्रोत : लालदिशा, अङ्क–३

तश्वीर स्रोत : सञ्जीव

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार