
अमेरिकी सहयोग परियोजना (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले तीन हप्ताभित्र एमसीसी पारित गर्न नेपालका दलहरुलाई अल्टिमेटम दिएकी छिन् ।
फतिमाले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ।
बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ताको समयसीमा दिएको बताइन्।
फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय थप्न नसकिने उनले बताइन्।
‘फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो,’ सुमारले भनिन्,‘हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं।’
एमसिसी सम्झौतामा कुनै परिवर्तन नहुने पनि उनले स्पष्ट पारिकी छिन्।
एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले संसारका अरू मुलुकहरू पनि अनुदान पाउनका लागि कुरिरहेकाले नेपालका लागि आफूहरूले थप समय दिन नसक्ने बताए।
नेपालजस्तै अवस्थाबाट गुज्रिरहेका अन्य मुलुक यो सम्झौता गर्न आतुर छन्। उनीहरूलाई हामीले कुराइरहेका छौं। अब धेरै समय हामी उनीहरूलाई कुराउन सक्दैनौं,’ उनले भनेका छन्।
देउवा र प्रचण्डको प्रतिवद्धतापछि आफूहरूले डिसेम्बर २०२१ मै एमसिसी संसदबाट पारित हुने आशा गरेको भए पनि त्यो हुन नसकेकाले उनीहरूले नै मागेबमोजिम फेब्रुअरी २८ को समय सीमा तोकेको उपाध्यक्ष सुमारले बताइन्।







