माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् ।

एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकको सबै तयारी पुरा भइसकेको थियो । बैठकमा पेस गर्ने पदाधिकारीको प्यानल पार्टी अध्यक्ष प्रचण्डले बिहीबारसम्म टुङ्गो लगाउने भनिएको थियो । माओवादी स्रोतले भन्यो, ‘पार्टीभित्र र बाहिरको घेराबन्दीमा परेपछि अध्यक्षले बैठकबारे होमवर्क नै गर्न पाउनुभएन । त्यही भएर अन्तिम समयमा बैठक नै स्थगित गर्नुपर्ने अवस्था आयो ।’

स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ ।

प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’

अब बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै १५ सदस्यीय केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई समेत पूर्णता दिने कार्यतालिका रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार