अमेरिकी सैनिक तथा गुप्तचर सुत्रले युक्रेनमाथि पूर्णचरणको आक्रमण गर्ने क्रममा रुसी फौज ९ वटा रुटबाट युक्रेन प्रवेश गर्न सक्ने बताएको छ । रुसी ट्याङ्कहरू भने ४८ घन्टाभित्र युक्रेनको राजधानी किभ पुग्ने सम्भावना रहेको गुप्तचर सुत्रको अनुमान छ ।

रुसले सेनाको १६८ बटालियन–ट्याक्टिकल समूहमध्ये प्रत्येकमा ८ देखि ९ सय सेना रहनेगरी झण्डै एक सयवटा समूहलाई युक्रेन नजिक तैनाथ गरेको छ । हरेक दिन यस समूहलाई थप प्रवाह गरिने छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पेत्स्नाज नामक सातवटा रुसी विशेष अपरेसन इकाइमध्ये ६ वटाबाट फौज र उपकरणहरू पठाइसकेका छन् । यस्तो प्रत्येक इकाइमा २५० देखि ३ सय जना सर्वोत्कृष्ट लडाकु रहनेछन् ।

सबैभन्दा बृहत आक्रमणको क्रममा एकै स्थानमा दुईतिरबाट एकैचौटि आक्रमण सुरु गरिने छ । यस्तो योजनालाई पिन्सर मुभमेन्ट वा डबल एनभेलप्मेन्ट भनिन्छ ।

गोप्य सूचनामा उल्लेख गरिएअनुसार रुसी फौजले निप्रो नदीको पूर्वतर्फको अधिकांश भूभागमा कब्जा गर्नेछ । सो क्षेत्रमा युक्रेनको सबैभन्दा सक्षम सैनिक इकाइ लगायतको ५० प्रतिशत फौज रहेको छ ।

रुसी सीमा पार गरेर रुसी ट्याङ्क र स्वचालित इकाइहरू पेल्तोभा र खार्खिभतर्फ बढ्नेछन् । नदीतर्फ जानेक्रममा तिनीहरूले यी दुई सहरको फन्को लगाउनेछन् ।

स्थलसेना दोन्वासबाट तीन रेखाबाट अघि बढ्दै क्रिमियाको पूर्व र दक्षिण बाटो हुँदै एजोभ सागरको तट पछ्याउँदै अघि बढ्नेछन् । क्रिमियाबाट हुने हवाई आक्रमणलाई रुसका सैनिक हेलिकोप्टरहरूले पनि साथ दिनेछन् ।

यसैबेला ब्ल्याक सीको किनार कब्जा गर्न एउटा एकैपटक जल र स्थल दुवैबाट पनि आक्रमण गर्न सकिन्छ । साथै ओदेस्साबाट मोल्दोकातर्फ आउँदै गरेका जल र थल इकाइले ब्ल्याक सीतर्फ जान सुरक्षा प्रदान गर्नेछ ।

रुसले पहिले नै युक्रेनको तट क्षेत्र नजिक जलसेनाको बटालियनसँगै पनडुब्बीहरू र पाँचवटा एम्फिवियस जहाज पनि तैनाथ गरिसकेको छ । गुप्तचर सूचनाअनुसार केही दिनमै त्यहाँ छ वटा जहाज थपिने छ । साथै रुसी आक्रमणको क्रममा ५० हजारको संख्यामा सर्वसाधारण मारिने वा घाइते हुने अनुमान गरिएको छ ।

अर्को अझै डरलाग्दो आक्रमणको विकल्पको रूपमा किभलाई घेरो हाल्न उत्तर दिशाको दुई मार्गबाट गरिने हमला हुनेछन् । त्यसमा क्षेप्यास्त्र प्रहार, विद्युतीय युद्धकौशल र बेलारुसको दक्षिण भागबाट झितोमेर र किभको पूर्वतर्फ बढ्दै गरेका स्थल सेनाको प्रयोग हुनेछ ।

चेर्नोविल वरपरका मार्गबाट पनि रुसी फौज किभ प्रवेश गर्नसक्ने छ । सो क्षेत्रका पक्कि सडकका कारण रुसी ट्याङ्क र सैनिक सवारी साधनहरू युद्ध सुरु भएको पहिलो दुई दिनमै किभको मुखैमा पुग्न सक्ने छन् ।

रुसी सेनाले बेलारुसमा दुईवटा अत्याधुनिक एस–४०० विमान भेदक क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ । तिनीहरूले युक्रेनको आकासमा नियन्त्रण गर्न मद्दत गर्नेछन् । तिनीहरूले त्यहाँको आकासमा विमान वा क्षेप्यास्त्रहरू रोक्नेछन् ।

सम्भवत राति गरिने शृङ्खलावद्ध गोलाबारुद, मध्यम दूरीका क्षेप्यास्त्रसहितको बमबारी आक्रमण भने हातहतियार भण्डार, रडार स्टेसन, विमान तथा हवाई प्रतिरक्षा प्रणाली र अन्य खतरनाक युक्रेनी सैनिक स्थलहरूमा लक्षित हुनसक्ने बताइएको छ ।

प्राप्त गोप्य सूचनाअनुसार रुसले आक्रमण थालेको केही घन्टाभित्रै युक्रेनको प्रतिरक्षा क्षमता विफल बनाउने प्रयास गर्नेछ । रुसले युक्रेनको विभिन्न भागमा रहेका सैनिक इकाइहरूबीचको संचार प्रणाली अवरुद्ध गर्न साइबर र विद्युतिय युद्धकौशल आक्रमण एकै साथ सुरु गर्ने छ ।

त्यतिनै बेला रुसी सेनाले युक्रेनी सैनिक इकाइहरूको भौतिक सम्पर्क बिच्छेद गर्न पुलहरू नष्ट गर्नेछ । भने, सैनिक फौज र इन्जिनियरहरूको प्रयोग गरी नदीको क्रसिङहरू कब्जा गर्ने छ ।

अमेरिकाको विदेश नीति प्रतिष्ठानका रुसी सेना विशेषज्ञ रोब लिकाअनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण शैली रुसी जनतालाई स्वीकार्य हुनेगरी अपनाउनेछन् । पुटिनले रुसी फौजको आक्रमण सर्वसाधारण र भौतिक पूर्वाधारमा भन्दा युक्रेनको सैनिक क्षेत्रमा केन्द्रित गर्ने छन् ।

लि भन्छन्, “ रुसी सेनाको लक्ष युक्रेनी सेनामा धेरैको ज्यान लिनु, सम्भवत युद्धबन्दी बनाउनु र भविष्यमा प्रतिरक्षाका लागि उठ्नै नसक्ने गरी युक्रेनी सैनिक क्षमतालाई तहसनहस गर्नु रहेको छ । रुसले यो कार्य सकेसम्म छिटो गर्न खोज्नेछ । रुसले युक्रेनी सेना र समाजलाई एकैदिन युद्ध सकियोस् भन्ने सोच आउने गरी अत्यन्तै तीव्र र भयानक तरिकाले आक्रमण गर्नेछ । रुसले आक्रमण सुरु गरेको पहिलो २० वा ३० मिनेट भित्रै अधिकांश युक्रेनी विमानस्थललाई तारो बनाउने छ । त्यसपछि स्थल आक्रमण सुरु गरिने छ ।”

तर, अमेरिकी अधिकारीहरू पुटिनले त्यति डरलाग्दो आक्रमण नगर्ने बरु युक्रेनको केन्द्रीय सरकार पल्टाएर आफूलाई पायक पर्ने सरकार खडा गर्ने सम्ममा आक्रमणको लक्ष सीमित रहने विश्वास लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार