
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समूहले २० फागुनको केन्द्रीय कमिटी बैठकलाई वारपारको बैठकका रूपमा लिने भएको छ । श्रेष्ठ समूह संसदबाट एमसीसी अनुमोदन गर्ने सन्दर्भमा प्रचण्डको निर्णयप्रति आत्मलोचना नगरे विकल्प खोज्ने रणनीतिमा देखिएको छ ।
२० फागुनको केन्द्रीय कमिटी बैठकमा प्रचण्डमाथि अनुशासन उल्लंघनको प्रश्न उठ्नेछ । श्रेष्ठ समूहले उठाउने यो प्रश्नमा प्रचण्डको जवाफले माओवादी केन्द्रको विभाजन रोक्ने वा नरोक्ने भन्ने निर्क्योल हुनेछ ।
अहिले माओवादीमा पार्टी को हो ? भन्ने प्रश्न उठेको छ । आठौँ महाधिवेशनपछि माओवादीको केन्द्रीय कमिटी चयन भएको छ ।
अध्यक्षबाहेकका पदाधिकारी चयन हुन सकेको छैन भने स्थायी कमिटी र पोलिटब्युरो पनि बनेको छैन । त्यसैले आइतबार एक्कासि प्रचण्डले एमसीसी अनुमोदन गर्ने निर्णय गरेकै कारण पार्टी भनेको प्रचण्ड हो वा अरु पनि हो भन्ने प्रश्न उठेको श्रेष्ठनिकट केन्द्रीय सदस्य पेशल खतिवडा बताउँछन् ।
प्रचण्डको एकल निर्णयलाई पार्टीले स्वीकार गर्न नसक्ने उनको दाबी छ । अर्थात्, प्रचण्डले पूर्वस्थायी कमिटी सदस्यका नाममा नेताहरूसँग छलफलसम्म गर्न सक्ने, तर निर्णय आधिकारिक नहुने खतिवडाको भनाइ छ ।
प्रचण्डले एमसीसीको पक्षमा निर्णय लिनकै लागि केन्द्रीय कमिटीको बैठक दुई महिनाभन्दा बढी समय धकेलेका थिए । प्रचण्डमाथि श्रेष्ठ समूहले दबाब बढाएका कारण आउने २० फागुनमा पनि बैठक बस्छ कि बस्दैन भन्नेमा श्रेष्ठ समूहले आंशका गरिरहेको छ ।
एमसीसी अनुमोदन गर्ने प्रचण्डको निर्णयले माओवादी विभाजनको डिलमा पुगेको भने प्रस्टै छ । श्रेष्टनिकट नेताहरू केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार कमिटी सदस्यहरूसँग निरन्तर छलफलमा छन् ।







