
एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि पार्टीभित्रै तीब्र असन्तुष्टि व्यक्त गरिरहेका नेता नारायणकाजी श्रेष्ठसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भेट गरेका छन् ।
महासचिव विप्लवले बुधबार बिहान नेकपाका श्रेष्ठसँग उनकैं निवास हात्तिवनमा भेटेका हुन् ।
माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको कार्यशैली एकलौटी खालको भएको भन्दै श्रेष्ठ पक्षधरले आपत्ति जनाउँदै आएको छ । एमसीसीविरोधी पक्षधरहरुको कार्यगत एकताका लागि समेत केही नेताहरुले माग गरिरहेका बेला श्रेष्ठ र विप्लवबीच भेट भएको हो । विप्लव नेकपाले एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आएको छ । माओवादी केन्द्रमा श्रेष्ठ पक्षको धारणा पनि उस्तैं छ ।
एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए । लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।
व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा पनि असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’
एमसीसी सम्झौता अनुमोदनपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेको छ ।







