
नेकपाका महासचिव विप्लवले महासचिव विप्लवले १२ बुँदे व्याख्यात्मक बुँदा लत्रात्मक र लज्जास्पद बुँदा भएको भन्दै एमसीसी विरुद्धको लडाइँ अफिम युद्ध जस्तै हुनेवाला भएको बताउनुभएको छ । महासचिव विप्लवले अमेरिका पाँच बर्षका लागी होइन, पाँच शताब्दीका लागी आउन खोजेको भन्दै यसका विरुद्ध देशभक्तहरु एक हुनुपर्ने बताउनुभयो ।
महासचिव विप्लवले नेपालको संसद अमेरिकी साम्राज्यवादको चाकडी गर्ने अखडा भएको भन्दै यसको औचित्य सकिएको बताउनु भएको छ । महासचिव विप्लवले संसदीय दलहरुले संसदबाट देशको राष्ट्रियता बेचिरहेका भन्दै फागुन १५ गते नेपालीहरुले इतिहासमा कहिल्यै बिर्सन नसकिनै कालो दिन भएको बताएका छन् । एमसीसी संसदबाट जबर्जस्ती पास गरिएको भन्दै काला दिन लाद्ने काला मान्छेहरुको विरुद्धको संघर्षलाई अगाडी बढाउने बताउनुभयो ।
उहाँले आजको भुमण्डलीकृत विश्वमा शक्ति राष्ट्रहरुले आफ्नो हस्तक्षेप बढाउनु स्वभाविक भएको भन्दै आजको साम्राज्यवादले विकासको नाउँमा नेपाल पस्न खोजेको बताउनुभयो । उहाँले एमसीसी भुमण्डलीकृत साम्राज्यवादको नीतिलाई लागु गर्ने योजना भएको भन्दै साम्राज्यवादको युद्धलाई जनताले नयाँ तरिकाले परास्त गर्न जरुरी छ ।
उहाँले एमसीसी एक्काइसौं शताब्दीको साम्राज्यवादले कमजोर देशहरुमाथि उपनिवेश बनाउने तोपभन्दा पनि खतरनाक नीति भएको भन्दै अनुदानको वहाना बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउन र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने साम्राज्यवादी नीति भएको बताउनुभयो ।
महासचिव विप्लवले केपी ओली, माधव, देउवा, प्रचण्ड र देउवाहरुले कुर्सीका लागी देश र जनतालाई बिर्सिएको भन्दै यो उनीहरुको मूर्खता भएको बताउदै श्रीलंका कम्युनिस्ट देश नभएर पनि त्यसले एमसीसी अस्वीकार गरेको बताउनुभयो । विश्व इतिहासमा लेनिन र माओले कुनै समय देशको रक्षा कम्युनिस्ट पार्टी नै चाहिने कुरा बताएको भन्दै तर नेपालमा कम्युनिस्ट पार्टीको नाम भजाएर केपी, प्रचण्ड, माधवहरुले साम्राज्यवादका सामु आत्मसमर्पण गरेको बताउनुभयो ।
उहाँले नेपाली जनतालाई झुक्याएर राष्ट्रघाती सम्झौता गर्नेहरु कम्युनिस्ट नहुने बताउदै अहिले साम्राज्यवादविरुद्ध लड्ने शक्तिशाली मोर्चा आवश्यक भएको बताउनुभयो । उहाँले संसदका मुठ्ठिभर शासकहरुलाई देश बेच्ने अधिकार नभएको बताउदै सबै पार्टीहरुभित्र एमसीसीका विपक्षमा जबर्जस्ती बहस भइरहेको तर नेताहरु सिक्किमका राजा लेण्डुपेको भूमिकामा रहेको बताउनुभयो ।
उहाँले संसद अमेरिकी साम्राज्यवादको भजनमण्डली गाउने थलो भएकोले यो सार्वभौम नभएको भन्दै कांग्रेस नदी नाला बेचेर खाने र राष्ट्रिय उद्योगहरुलाई दलाल पुँजीपति वर्गको खल्तीमा हाल्दिने राष्ट्रघाती पार्टी भएको बताउदै एमसीसी पास गराउने कांग्रेसका नेताहरु साम्राज्यवादको जुठोपुरो खाएको बताउनुभयो ।
महासचिव विप्लवले कांग्रेसले अमेरिकाको तलुवा चाटेर र कम्युनिस्ट नामका नवधनाढ्य वर्गका कारण फागुन १५ एमसीसी पास गराएको बताउदै प्रचण्ड र माधवलाई नेपाली जनताले इतिहासमा नै कहिल्यै भुल्न नसकिने बताउनुभयो । उहाँले संसदबाट पास गरेको एमसीसी असंवैधानिक, गलत र जनविरोधी निर्णय भएको भन्दै यो कहिल्यैपनि कार्यान्वयन लागु नहुने बताउनुभयो ।महासचिव विप्लवले एमसीसी यो देशमा गुमनाम लागु हुन्छ भनेको सोचेको छ भने त्यो सम्भव नभएको भन्दै एमसीसी विरुद्धको संघर्षमा राज्यले दमन गरेको प्रति आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले कांग्रेसलाई सच्चिन आग्रह गर्दै नेपाली युवाहरु साम्राज्यवादको जुवा मुनि पिसिन तयार नभएको बताउनुभयो ।
उहाँले ५० अर्बले विकास नहुने बताउदै एनसेलबाट ७२ अर्ब लिएर विकास काममा लगाउनु सुझाउनुभयो । उहाँले १९५० को असमान सन्धिहरुका कारण भीमदत्त पन्तहरु मारिनु परेको बताउदै केआई सिंहलाई भारतको सेना आएर पक्राउ गरेको बताउनुभयो । उहाँले अहिले एमसीसीका विरुद्ध संघर्ष गर्नेमाथि राज्यले दमन गरिरहेको भन्दै संसदबाट पास भएको एमसीसी फिर्ता गर्नुपर्ने बताउनुभयो ।
अहिले अमेरिका र रुसको बीच लडाइँ भएपनि युक्रेनी जनताले जीवन गुमाइरहेको चर्चा गर्दै विप्लवले शेरबहादुर देउवा यसबारे अमेरिका साम्राज्यवादको पक्षमा मत दिएर गम्भीर अपराध गरेको तर त्यो नेपाली जनतालाई मान्य नहुने बताउनुभयो ।
महासचिव विप्लवले नेपाल कुनै विदेशमा बसेर सुझाव दिनेहरुबाट सुरक्षित नहुने बताउँदै नेपाली श्रमिक जनता, किसान, मजदुर, सुकुम्बासीहरुले मात्र बचाउन सक्ने बताउनुभयो । उहाँले आफुहरु रानीपोखरीको पानीजस्तो होइन, कर्णालीको नदीजस्तै गडगडाहटजस्तै बग्ने मान्छेहरु भएको भन्दै देशको स्वाधीनता लडेर मात्र प्राप्त हुने बताउनुभयो । महासचिव विप्लवले संसदले बचाउन नसकेको देश आफुहरुले बचाउने र संसदले घुडा टेकेका देश आफुहरुले उठाउने बताउनुभयो ।







