
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपाललाई एमसीसी को भारी बोकाउन सफल भएको बताएका छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
जनादेश खण्डित भएपछि पुनः जनतामा जानु अपरिहार्य छ । साढे चार वर्षअघि नेकपाका पक्षमा आएको जनादेश प्रचण्ड र माधव नेपालले २३ सिट जितेका शेरबहादुर देउवालाई बुझाए । अदालतले परमादेशमा प्रधानमन्त्री तोक्यो । हामीले विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने खोज्दा चुच्चे नक्सा प्रकाशित भएपछि हामीमाथि घेराबन्दी भयो । अहिलेको गठबन्धनले डेलिभरी गर्न सकेन । यो संसद्ले औचित्य गुमाइसकेको छ । प्रधानमन्त्रीले विघटन गर्ने हो भने एमाले चुनावी प्रक्रियामा सामेल हुन्छ । एमाले वैकल्पिक सरकार बनाउन अदालत जाँदैन ।”
आगामी चुनावमा नेकपा एमाले एक्लै लड्न तयार रहेको महासचिव पोखरेलले दाबी गरे । उनले भने, “२०७३ मा स्थानीय तहको चुनाव हुँदा माओवादी र कांग्रेसको सरकार थियो । दुवैले मिलेर चुनाव लडेका थिए । तर स्थानीय तहमा एमालेले एक्लै ४० प्रतिशत जितेका थियो । मधेस प्रदेशमा हामी प्रचारमा पनि जान सकेका थिएनौं । अहिले एमालेको पक्षमा जनलहर छ ।”
उनले थपे, “प्रचण्ड र माधव नेपालले गठबन्धनद्वारा एमालेलाई सरकारबाहिर राखे तर जनताबाहिर राख्न सक्दैनन् । जति लामो समयसम्म यो सरकार रहन्छ, त्यति एमालेको पक्षमा जनलहर वृद्धि हुन्छ । हामी अहिले संयुक्त चुनावी घोषणा गरेर जाने पक्षमा छैनौं । स्थानीय तहमा अपवादका रुपमा तालमेल भएछ भन्ने अर्कै कुरा हो । एमालेसँग देशभरि एक्लै जाने असाधारण ताकत छ ।”







