
माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई आफ्नै निवास खुमलटारमा बोलाएर तत्काल राजीनामा गर्न दबाब दिएका छन्। अर्थमन्त्री शर्मालाई अध्यक्ष दाहालले करिब २ घन्टासम्म यसबारे ‘केरकार’ गरेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।
करको हेरफेर गर्न अर्थ मन्त्रालयका सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करलाई एक पूर्वनासु रघुनाथ घिमिरेको निर्देशन मान्न भनेका अर्थमन्त्री जनार्दन शर्माले विज्ञ र सरोकारवालाहरुलाई बेवास्ता गरेको अध्यक्ष दाहालको मूल्यांकन छ। अर्थतन्त्र संकटमा परेका बेला अर्थमन्त्री शर्माले जथाभावी काम गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेका बेला अध्यक्ष दाहालले उनलाई राजीनामा गर्न निर्देशन दिएका हुन्।
अध्यक्ष दाहालले मन्त्री शर्मालाई खुमलटारमै बोलाएर आइतबार हप्काउँदै भने- तपाईँलाई विश्वास गरेर जिम्मेवारी दियौँ, तपाईँले सचिवहरुलाई बाइपास गरेर यस्तो गर्नुभयो, तपाईँबाट गल्ती भयो।’
जवाफमा मन्त्री शर्माले आफूबाट गल्ती भएको स्वीकार गरेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार अर्थमन्त्रीको गतिविधि अराजक र मुलुकको समग्र अर्थतन्त्र विपरीत रहेको भन्दै अध्यक्ष दाहाल उनीसँग रुष्ट भएका छन्।
जेठ १४ गते राति मध्यरातमा पूर्वनासु घिमिरेलाई अर्थमन्त्रालयमै निमन्त्रणा गरेर अर्थमन्त्री शर्माले दुई सचिव मरासिनी र पुष्करसहित दुई प्रमुख सहसचिवहरु भुपाल बराल र चक्रबहादुर बुढालाई उनले भनेअनुसार करको दरमा हेरफेर गर्न सुझाएका थिए। सचिव र सहसचिवहरु बाध्य भएर घिमिरेका अनुसार करको दरमा हेरफेर गर्न तयार भएका थिए।
शर्माको यो गतिविधि अर्थतन्त्रविपरीत र सचिवहरुको हुर्मत लिने गरी भएको भन्दै आलोचना भइरहेको छ।
यसैबारे शर्मालाई दाहालले आफ्नै निवासमा बोलाएर हप्काएका हुन्।
उनले अर्थमन्त्री शर्मालाई तत्काल राजीनामा गर्न निर्देशन दिएका छन् ।







