घुम्दै फिर्दै रुम्झाटार भनेजस्तै सात वर्षपछि पुनः डा. बाबुराम भट्टराई पूरानो माओवादी केन्द्रमा फर्कने सोचमा छन् ।

अहिले बाबुराम प्रचण्डसँग सघन संवादमा छन् । प्रचण्ड र बाबुरामबीच संवादको केन्द्र बनेको छ उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को निवास बहादुर भवन, लैनचौर ।

पटकपटक गरेर प्रचण्ड र बाबुराम उपराष्ट्रपति निवासमा आधा दर्जन पटक भेटघाट गरिसकेका छन् तर भेटमा उपराष्ट्रपतिसहित प्रचण्ड र बाबुराममात्रै सहभागी भएकाले चुरो कुरा बाहिरिएको छैन । सबै संवाद गोप्य नै राखिएको छ ।

बाबुराम निकट नेता गंगानारायण श्रेष्ठले गठबन्धन र सरकारका विषयमा छलफल गर्न प्रचण्ड र बाबुरामबीच भेटघाट भइरहेको दाबी गरे । ‘समाजवादी केन्द्र बनाउने विषयमा डाक्टर सावको पहिलेदेखिकै प्रस्ताव हो । त्यो कुरा उहाँले उठाइराख्नु भएको छ । त्यतातिर उन्मुख हुने हो भने प्रचण्ड र बाबुराम एक ठाउँमा हुन असम्भव पनि देख्दिनँ,’ श्रेष्ठले भने ।

तर अहिलेकै अवस्थामा बाबुराम भट्टराई माओवादीमा प्रवेश गर्ने सम्भावना आफूले नदेखेको उनले बताए । यदि कम्युनिस्ट विचार बोक्ने सबै पार्टीलाई समेटेर समाजवादी केन्द्र बनाउने अवस्थामा प्रचण्ड र बाबुराम एक ठाउँमा हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

श्रेष्ठजस्तै प्रचण्ड निकट नेता दीनानाथ शर्माले अहिलेकै अवस्थामा बाबुराम माओवादी प्रवेश गर्ने सम्भावना नरहेको दाबी गरे । कुनै समय नेकपा मसालमा बाबुरामसँगै काम गरेका शर्माले सजिलै बाबुराम माओवादी फर्किन नसक्ने बताए । ‘बाबुरामजी मार्क्सवाद नै असफल भयो भन्नेमा हुनुहुन्छ । त्यसरी नै छलफल गर्न चाहनुहुन्छ । माओवादीले मार्क्सवाद नै छोडेर जाने सोचेको छैन,’ शर्माले भने, ‘यो स्थितिमा बाबुराम माओवादीमा फर्किनुहुन्न । बाबुराम आफै पनि मार्क्सवाद र माओवादी स्वीकार गरेर जाने पक्षमा हुनुहुन्न ।’

प्रचण्ड र बाबुरामको भेट हुने बित्तिकै पार्टी एकता हुने वा सहकार्य हुने स्थितिको रूपमा नलिन शर्माले आग्रह गरे । ‘नेताहरुबीच भेटघाट हुनुलाई स्वाभाविकै रूपमा लिनुपर्छ । राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नु, चिन्ता गर्नु स्वाभाविकै हो,’ शर्माले भने, ‘भेटघाट भनेको तत्कालका लागि कसैको स्वार्थ कहाँ मिल्छ भन्ने भन्दा पनि कम्युनिस्ट पार्टीमा विचार र सिद्धान्तको कुरा हुन्छ । ती सबै विषयमा छलफल गर्न पनि भेटघाट भएको हुन सक्छ ।’

बाबुराम आफैमा अप्ठ्यारो नेता भएकाले पुनः पार्टीमै फर्काएर प्रचण्डलाई काम गर्न गाह्रो हुने शर्माको भनाइ छ ।

एउटै पार्टीमा ३० वर्ष बिताएका प्रचण्ड र बाबुराम एकले अर्काको अभाव खट्किएको राम्रोसँग महसुस गरेका छन् । लामो समय एउटै पार्टीमा काम गरेकाले एकले अर्काको कमजोरी पनि दुवैले राम्रैसँग बुझेका छन् । त्यसैले प्रचण्ड र बाबुराम आफ्नो मनको भारी बिसाउन उपराष्ट्रपति निवास लैनचौर पुग्छन् ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गर्ने बेला नन्दबहादुर पुन ‘पासाङ’ बाबुरामसँग नजिक भएका थिए। त्यो निकटता अहिले पनि कायमै भएकाले प्रचण्ड र बाबुरामको नियमित भेटघाट गर्ने ठाउँ उनको निवास बनेको पूर्व मन्त्री हरिबोल गजुरेल बताउँछन् ।

‘पासाङजी जनमुक्ति सेनाको कमाण्डर हुँदा प्रचण्डसँग नजिक हुनुहुन्थ्यो । कटुवाललाई कारबाही गर्ने बेला बाबुरामसँग नजिक हुनुभयो,’ गजुरेलले भने, ‘अहिले पनि पासाङजी बाबुरामसँग नजिक हुनुहुन्छ, त्यसैले प्रचण्डसँग बाबुरामको भेटघाट भइरहन्छ । यो बाहेक अरू केही कारण होइन ।’

प्रचण्ड र बाबुरामलाई एक बनाउन पासाङले आफ्नोतर्फबाट भूमिका खेलिरहेको माओवादी नेताहरू बताउँछन् । तर, अहिलेकै अवस्थामा प्रचण्ड र बाबुराम एउटै पार्टीमा हुने सम्भावना देखिँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार