भारत गएको दोस्रो दिन विदेशमन्त्री एस जयशंकरसँग प्रचण्डको भेट भयो। प्रचण्डका अनुसार उनीसँगको भेटघाटपनि राजनीतिक भेटवार्ता नै थियो ।

२०७२ मा नेपालको संविधान निर्माणअघि काठमाडौँ आएर संविधान जारी नगर्न दबाब दिएर फर्केका तत्कालिन विदेश सचिव जयशंकरसँग प्रचण्डले राष्ट्रिय हितका मुद्दा खुलेर राख्न सके वा सकेनन्, त्यसबारे विस्तृत विवरण आएको छैन। तर सार्वजनिक भएको तस्बिरमा प्रचण्ड र जयशंकरबीचको कुराकानीको ‘बडिल्याङ्ग्वेज’ हेर्दा प्रचण्ड निकै सतर्क र एकाग्र भएर जयशंकरका कुरा सुनिरहेको देखिन्छ।

प्रचण्ड ‘टाइ–सुट’ सहित औपचारिक पोशाकमा देखिँदा जयशंकर भने अनौपचारिक पहिरनमा छन्। प्रचण्डले नेपालको संविधान घोषणाका बेला त्यति राम्रो सम्बन्ध नरहे पनि अहिले भेट्दा ‘ठीकै ठीकै’ कुरा भएको आशय व्यक्त गरेका छन् ।

संविधान जारी हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश दूतका रुपमा आएका तत्कालीन विदेश सचिव जयशंकरले आफूलाई ‘ह्युमिलियट’ गरेको प्रचण्डले सार्वजनिक रुपमै बताएका थिए । अहिलेको भेटमा केही सम्बन्ध सुधार भएको उनको विश्वास छ।

तर नेपालमा भारतीय स्वार्थ अनुकूलको संविधान जारी नभएको झोंकस्वरुप नेपालमाथि नाकाबन्दी लगाउन निर्णायक भूमिका खेलेका जयशंकरले अबका दिनमा प्रचण्डलाई ‘गुड बुक’ मा राख्लान् वा नराख्लान् ? यो चाहिँ प्रतीक्षाकै विषय छ।

भ्रमणको दोश्रो दिन प्रचण्डले भाजपाले गरेको एक कार्यक्रममा इतिहासदेखि जकडिएर रहेका सन् १९५० को मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनको कार्यान्वयन र सीमा समस्या वार्ताबाट समाधान हुनुपर्ने बताए।

एकजना नेपाली नेताले राष्ट्रियतासँग जोडिएका यी मुद्दा भारतका प्रबुद्ध व्यक्ति सहभागी सार्वजनिक मञ्चमा राख्नु जायज थियो। तर यो प्रश्नपनि सँगसँगै उठ्छ– उनले सार्वजनिक मञ्चमा व्यक्त गरेझैँ जयशंकर वा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगका अन्तरंग कुराकानीमा ती कुरा स्पष्टसँग राख्न सके वा सकेनन् ?

भारत भ्रमणमा प्रचण्डले दुई घण्टा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बिताए । तर डोभालसँग उनले के विषयमा कुराकानी गरे, त्यो सार्वजनिक भएको छैन । प्रचण्डको मर्यादा र हैसियतको तुलना गर्दा डोभाललाई मोदीका ‘आसेपासे’ भन्दा फरक पर्दैन। तर तिनै डोभालसँग प्रचण्डले सबैभन्दा बढी समय बिताए ।

प्रचण्डलाई भ्रमणको सबैभन्दा नमज्जाको विषय भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट रद्द हुनु रह्यो। नेपालबाट प्रस्थान गर्नुअघि नै प्रधानमन्त्री मोदीसँग आइतबार बिहान ‘ब्रेकफास्ट’ बैठक   चाँजोपाँजो भाजपाका तर्फबाट मिलाइसकिएको आश्वासन उनले पाएका थिए ।
तर, नयाँदिल्लीबाट फर्किने अन्तिम बेलासम्म पनि मोदीसँग भेट गर्न पाएनन्। आन्तरिक व्यस्तता देखाउँदै ‘साउथ ब्लक’ ले अन्तिममा समय नमिलाएपछि उनी घर फर्किनुपर्यो। माओवादी केन्द्रका एक शीर्ष नेताका भनाइमा, दिल्लीले प्रचण्डलाई अपमानित गरेर पठाएको छ ।

‘तय भइसकेको भेट अस्वीकार गर्नु दिल्लीले प्रचण्डलाई मात्रै होइन, नेपालका नेता र एक किसिमले जनताकै अपमान हो भनेर बुझ्नुपर्छ’ ती नेताले भने ।

अन्तिम समयमा मोदीसँग भेट नहुने जानकारी पाए पनि आफूले कारण जानकारी नपाएको र मोदीलाई नभेटे पनि ‘टेन्सन नरहेको’ प्रतिक्रिया प्रचण्डले दिएका छन्।

डोभालसँगको भेटबाटै प्रचण्ड सन्तुष्ट रहे पनि प्रचण्डको भ्रमणबाट नयाँदिल्लीको नियत समेत प्रस्टसँग झल्किएको छ। ‘डोभालसँग दुई– दुई घण्टा भेटेपछि किन मोदीसँग पनि भेट्नुपर्यो ?’ सन्देश नयाँदिल्लीले दिन खोजेको छ । यो नेपालका नेताहरुका लागि राम्रो सन्देश होइन।

किनकी डोभाल मोदीका मुख्य सल्लाहकार भएकाले उनी शक्तिशाली अवस्य छन् । तर, प्रोटोकलका दृष्टिले नेपालका पूर्व प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षका समकक्षी होइनन्।

सार्वभौम रुपमा समान र निकट छिमेकका हिसाबले नेपालका पूर्व प्रधानमन्त्री जाँदा मर्यादा र सम्मानका हिसाबले कुराकानी हुनुपर्ने मोदीसँगै थियो ।

प्रचण्डको यसपटकको भारत भ्रमणले अन्य शीर्ष नेताहरुलाई  ‘आफ्नो पदीय कद मिल्ने भारतीय नेतासँगको भेट्ने निश्चित भएपछि मात्रै दिल्ली उड्ने थिति बसाउनुपर्छ’ भन्ने सन्देशपनि दिएको छ ।

प्रचण्डका सबै भेटवार्ता भाजपाको विदेश विभागले सहजिकरण गरेको थियो। पूर्व प्रधानमन्त्री र सत्तारुढ पार्टीका एक मुख्य नेताका लागि नेपालको कुनै कुटनीतिक संयन्त्रको यो भेटघाटमा सहभागिता थिएन। नयाँदिल्ली, लैनचौर र खुमलटारबीचको ‘डिरेक्ट कम्युनिकेशन’ पछि प्रचण्डको भ्रमण तय भएको थियो।

पूर्व प्रधानमन्त्री प्रचण्ड दिल्ली पुग्ने जानकारी बाह्रखम्बा रोडस्थित नेपाली दूतावासले एक दिन अघि मात्रै पाएको थियो। त्यसै अनुसार नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भूमिका केवल प्रचण्डलाई दिल्ली विमानस्थलको भिआइपी कक्ष उपलब्ध गराउन भारतीय विदेश मन्त्रालयलाई पत्राचार गर्नुमै सीमित रह्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार