
देश र जनताको मुक्तिका लागि जनसंगीतका माध्यमबाट अमूल्य योगदान पु¥याउँदै आएका जनसंगीतकर्मीहरुले एउटै मञ्चमा उभिएर “क्रान्तियात्रा अझै जारी रहेको” उद्घोष गरेका छन् । देशमा गरिखाने श्रमजीवी जनताको राज्यसत्ता अझै स्थापित हुन नसकेको भन्दै त्यसका निम्ति श्रमजीवी जनताले क्रान्तियात्रालाई निरन्तर अगाडि बढाइरहनु पर्नेमा उनीहरुले जोड दिए ।

जनवादी गीत प्रस्तुत गर्दै मोहित श्रेष्ठ र विद्रोही
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवशका अवसरमा २०७९ साउन ७ गते काठमाडौंको भृकुटी मण्डपस्थित पर्यटन बोर्डको सभा हलमा “संगीत समर्पण” कार्यक्रम गर्दै जनसंगीतकर्मीहरुले क्रान्तिपथबाट विचलित हुँदै गैरहेको राजनैतिक नेतृत्वलाई सशक्त खबरदारी गरे । जनसंगीतकर्मीहरुको छाता संस्था “संगीत अभियात्रा” को आयोजनामा भएको उक्त कार्यक्रममा प्रगतिशील सांस्कृतिक आन्दोलनमा क्रियाशील वरिष्ठदेखि नवप्रतिभावान दुई दर्जन जनसंगीतकर्मीहरुले सांगीतिक प्रस्तुति दिएका थिए । अलग अलग राजनैतिक पार्टीहरु प्रति आस्थावान रहे तापनि कार्यक्रममा जनसंगीतकर्मीहरुले जनवादी गीत, संगीतलाई अगाडि बढाउने सन्दर्भमा आफूहरु सबैको भावना एक रहेको प्रष्ट पारे । आफ्ना गीत, संगीत, नृत्य र अभिनयका माध्यमबाट उनीहरुले ती भावना अभिव्यक्त गरेका थिए ।

जनवादी गीतमा छमछमी नाँच्दै सहभागीहरु
कार्यक्रमको स्वरुप पनि उनीहरुको परम्परागत शैली भन्दा पृथक रहेको थियो । कार्यक्रममा कसैले अध्यक्षता गरेको थिएन, न त कुनै स्थायी संचालक नै थिए । मञ्चमा एक आकर्षक व्यानर र पुष्पलाल श्रेष्ठको तस्विर सजाइएको थियो । वरिष्ठ जनसंगीतकर्मी माधव प्रधानले शुरुमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका बारेमा सटिक मन्तव्य राखे । त्यसपछि कलाकारहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय गीत गाएर कार्यक्रम अघि बढाए । एक जना जनकलाकार मञ्चमा आएर आफ्नो प्रस्तुति राखी अर्को प्रस्तुतिका लागि अर्कोलाई निम्तएर जान्थे । कार्यक्रममा सबै कलाकारहरुका प्रस्तुति आकर्षक र उर्जाशील थिए । उनीहरुका गीत, संगीत, नृत्य र अभिनयले क्रान्तिको भाव बोलेका थिए । देश र जनताले भोग्न परिरहेका यथार्थ पीडाहरु बोलेका थिए – उनीहरुले प्रस्तुत गरेका गीतहरुले । जनकलाकारहरुका ती प्रस्तु्तिहरुमा दर्शक दिर्घा कतिबेला भावुक बन्थ्यो त कुनै बेला उत्साहित हुँदै नाँच्न पुग्थे । प्रत्येक प्रस्तुतिहरुले दर्शक दिर्घामा गहिरो प्रभाव पारेको प्रष्ट देख्न सकिन्थ्यो ।

जनवादी गीतमा अभिनयसहित जनवादी कलाकार नारायण शर्मा
कार्यक्रममा गीत प्रस्तुत गर्ने जनसंगीतकर्मीहरुमा माधव प्रधान, वीरप्रसाद भन्सारी, उदय श्रेष्ठ, निलिमा पुन, टेकबहादुर बलम्पाकी, चिरन पुन, कर्ण परियार ‘विद्रोही’, लक्ष्मी रिजाज ‘उदय’, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, लक्ष्मी गुरुङ, केशरी घर्तीमगर, झन्कार बुढामगर, सुशिल सिंह ठकुरी, केशर कालीकोटे, सुजन वि.क., लक्ष्मण पाख्रिन र अनु शर्मा रहेका थिए । कार्यक्रममा इसास किर्तिपुरका कलाकारहरुले राष्ट्रिय भावको नृत्य प्रस्तुत गरेका थिए भने रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले “सानो सानो बुकुरो” बोलको गीतमा मार्मिक अभिनय प्रस्तुत गरेका थिए । अन्त्यमा वरिष्ठ जनसंस्कृतिकर्मी मणि थापाले गहन मन्तव्य सहित उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद सहित ‘संगीत समर्पण’ कार्यक्रमको समापन गरेका थिए ।

जनवादी गीत प्रस्तुत गर्दै जनवादी गायक वितरण पुन
वरिष्ठ प्रगतिशील गीतकार श्याम तमोट, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोख्रेल, प्रगतिवादी कवि अनिल शर्मा विरही, प्रगतिवादी गीतकार लेखराज रेग्मी, हिसन समाल, प्रगतिवादी कवि तथा गीतकार आविष्कार कला प्रगतिशील सांस्कृतिकर्मीहरु मोहनलाल चन्द्र “आधार” कृष्णहरि भट्ट, ओम के.सी., नारायण सापकोटा, मनु वि.क., मोहन घिसिङ, चिन्तामणि पौडेल र गीतकार तथा संगीतकार नारायण दंगाल लगायतका जनसंगीतकर्मीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवशमा जनसंगीतकर्मीहरुले प्रस्तुत गरेको उक्त कार्यक्रम निकै प्रभावकारी भएको आयोजक “संगीत अभियात्रा” का एक यात्री जनकलाकार चिरन पुनले बताए । “संगीत समर्पण कार्यक्रम पनि भव्य एवं शानदार रुपमा सम्पन्न भएको छ ।”–जनकलाकार पुनले भने –“कार्यक्रमको व्यवस्थापकीय पक्ष र तालिका निर्माणमा हाम्रा सामान्य कमजोरी भएका हुन सक्छन् । तर समग्र रुपमा कार्यक्रममा सबै जनसंगीतकर्मीहरुले जसरी उत्साहका साथ आफ्नो प्रस्तुति राख्नुभयो–त्यो निकै प्रभावकारी भयो भन्ने हामीलाई लाग्दछ ।”

जनवादी गीत प्रस्तुत गर्दै जीवन शर्माकी छोरी
कार्यक्रममा नवप्रतिभाहरुको प्रस्तुतिबाट झनै उत्साहित देखिएका जनकलाकार चिरन पुनले नवप्रतिभा अनु शर्माको प्रस्तुतिले नयाँ युवा पुस्ता पनि प्रगतिशील गीत÷संगीतको क्षेत्रमा लामबद्ध हुन लागेको स्पष्ट संकेत मिलेको बताए । यस्तै सन्तुष्टि संगीत अभियात्राका अर्का यात्री रक्तिमका महासचिव उदय रिजालले पनि व्यक्त गरे । संगीत अभियात्राले यस्तै प्रस्तुतिलाई आगामी दिनमा पनि जारी राख्ने जनकलाकार रिजालले बताए । “संगीत अभियात्राले, मे दिवस, अक्टोबर क्रान्तिको सतवार्षिकी, सहिद दिवस, श्रमिक महिला दिवस, पारिजात स्मृति दिवस, इच्छुक स्मृति दिवस, जेवी टुहुरे स्मृति दिवस, खुशीराम पाख्रिन स्मृति दिवस, चुनु गुरुङ स्मृति दिवस नेकपाको स्थापना दिवस, लेनिन जयन्ती लगायतका दिनहरुको सन्दर्भमा पनि जनसंगीतकर्मीहरुको यस्तै साझा कार्यक्रम आयोजना गर्ने छ ।” –जनकलाकार रिजालले भने –“कुनै पार्टी विशेषको पक्षधरता भएर होइन प्रगतिशील तथा जनवादी गीत संगीतलाई अगाडि बढाउने र जनताको राज स्थापित गर्नका निम्ति जनतालाई चेतनशील र आन्दोलित पार्ने स्पष्ट उद्देश्यका साथ संगीत अभियात्रा निरन्तर अघि बढिरहने छ ।”







