
नेपाल कम्युनिस्ट पार्टी निकट जातीय मोर्चा मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिले एमसीसी र एसपीपी सम्झौता खारेजी र पक्राउ पुर्जी फिर्ता गर्न सरकारलाई आज देशैभरि ज्ञापनपत्र बुझाएको छ।
मगर मुक्ति मोर्चाको केन्द्रीय समितिले आज काठमाडौं उपत्यकालगायत देशभर ज्ञापनपत्र बुझाएको हो । काठमाडौं, भक्तपुर, ललितपुरसँगै रोल्पा, तनहुँ, नवलपुर, दाङ, प्युठान, स्याङ्जामा जिल्ला प्रमुख अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
त्यसैगरी मोर्चाले रुपन्देही, कपिलवस्तु, बाँके, लम्जुङ्ग, म्याग्दी, चितवनलगायत जिल्लामा पनि ज्ञापनपत्र बुझाएको बताइएको छ।
सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्नमा गम्भीर गल्ती गर्दै गइरहेको भन्दै मोर्चाले एमसीसी र एसपीपी सम्झौता तुरुन्त खारेज गर्न सरकारलाई चेतावनी दिएको छ।
तत्कालीन ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सम्झौता विपरित नेकपा महासचिव विप्लवलगायत नेता-कार्यकर्तामाथि लगाएको पक्राउ पुर्जी तत्काल फिर्ता गर्नसमेत मोर्चाले चेतावनी दिएको छ ।







