
अहिले धमाधम प्रदेश र प्रतिनिधिसभा उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ । हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस चलिरहेको छ । कतिपय शीर्ष र प्रभावशाली नेताहरूले एकभन्दा बढी क्षेत्रबाट पनि नाम सिफारिस गरेका छन् ।
१६५ निर्वाचन क्षेत्रका लागि अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी दौडमा छन् । कांग्रेसले १०० भन्दा तल झर्न नसकिने बताउँदै आएको छ । माओवादीले ६० र समाजवादीले ४० सिट दाबी गरिरहेको छ ।
जसपा र जनमोर्चाको दाबी पनि छ । माओवादीको चुनाव चिन्ह लिएर वामदेव गौतम र बाबुराम भट्टराई पनि दुई सिट खोजिरहेका छन् । बटम लाइन बनाएका शीर्ष नेताहरू दर्जनौँ पटक बैठक बसेपनि टुंगोमा पुग्न सकेका छैनन् ।
बरु उनीहरु सार्वजनिक मञ्चमा एकले अर्कोलाई घोचपेच गरिरहेका छन् । हालै नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस जम्मा २३ सिटे हैसियतको पार्टी भएको भन्दै ठुलो भाग खोज्न नहुने तर्क गरे । उनले गएको चुनावमा कांग्रेस कमजोर पार्टी भएको भन्दै अहिले ठूलो भाग खोज्न नहुने बताइरहेका छन् ।
तर अहिले बलियो संगठन भएका कारण सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ । कांग्रेसको संगठन बलियो भएकै कारण १०० सिट दाबी गरिरहेको छ । उसले दाबी गरेका ठाउँमा जित्ने सम्भावना पनि छ । ठिक यति बेला एमाले फुटेको र माओवादी कमजोर भएका कारण कांग्रेसलाई फाइदा बढी छ ।
तर एमालेबाट फुटेको समाजवादीको कुनै जिल्लामा पनि बलियो संगठन छैन । संगठन बलियो नभएका कारण उसका उम्मेदवारलाई जित्न सकस छ । त्यसकारण माधव नेपाल कांग्रेस र माओवादीको भरमा छन् । तर उनी सिट बाँडफाँड टुंगिन नसक्दा कांग्रेसलाई गाली गर्ने अवस्थामा पुगिसकेका छन् ।
सिट बाँडफाँड टुंगिन नसक्दा शीर्ष नेताहरू नै अन्योलमा परेका छन् । कार्यकर्ताहरूको तीव्र दबाब र आकांक्षाले गर्दा शीर्ष नेताहरू कति सिट पाइने हो भन्नेमा अन्यौलमा देखिएका हुन् ।







