
सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच यसअघिको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ।
गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र विप्लव नेतृत्वको नकेपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको थियो ।
साथैं सो भेटवार्तामा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह पनि सहभागी थिए।
वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको छ।
नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक रुपमा टुंग्याउने सहमति जनाएको थियो।
अदालती प्रक्रियामा पुगेका मुद्दा छिटो टुंग्याउन वर्तमान कानुनले अफ्टेरो पर्ने भएमा संशोधन गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो।
सरकारका तर्फबाट गृहमन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।







