बुद्ध धर्मका संस्थापक तथा शान्ति, अहिंसा र सत्यका अन्वेषक गौतम बुद्धका अनुयायी भिक्षुहरुले नैं विहारको सम्पतिको रुपमा लाखौं रुपैयाँ अपचलन गरेको खुलासा भएको छ ।

ढल्कोचोकस्थित संघाराम विहारका भिक्षुहरु भिक्षु अश्वघोष, भिक्षु आनन्द र स्थानीय समाजसेवी तथा बुद्धधर्मका अनुयायी स्थानीय धर्मदासका नाममा संयुक्त खाता खोली ४ लाख ६० हजार रुपैयाँ मिलन बहूउद्देश्यीय सहकारी संस्थामा राखिएको थियो । पाको, नयाँसडकमा रहेको सो सहकारीको मुद्दती खातामा राखिएको रकम संघाराम विहारका सञ्चालक सदस्य विरेन्द्रराज शाक्यको योजनामा खातावालको नाम परिवर्तन गरी निकालेर अपचलन गरिएको हो ।

सांसारिक गतिविधिबाट टाढै बसी ध्यानमा रहने सोझा भिक्षुहरु तथा बौद्धधर्मका ज्ञाताका रुपमा परिचित सुवर्ण शाक्यलाई समेत गुमराहमा राखी विरेन्द्रले विहारको लाखौं रकम हिनामिना गरेका हुन् । वीरेन्द्र सो विहारमा सञ्चालक सदस्यका रुपमा आएपछि विहारको भौतिक र अन्य सम्पतिका बारेमा जानकारी लिए । त्यसपछि त उनी लगातार विहारको सम्पति हडपेर आफू धनी बन्ने कार्यमा मात्र तल्लीन भएको अर्का एक सञ्चालक बताउँछन् । सहकारीमा विहारको लाखौं रकम रहेको थाहापाएपछि विरेन्द्र जसरी पनि सो रकम हात पार्न योजना बनाएर लागे ।

उनले भिक्षु अश्वघोष, भिक्षु आनन्द र धर्मदासको नाममा रहेको खाताका सञ्चालकहरु परिवर्तन गरी रकम झिक्ने योजना बनाए । यसका लागि उनले विहार सञ्चालक समितिको लेटर प्याडमा एक निवेदन लेखे । जसमा संघाराम विहारका भिक्षु अश्वघोष, भिक्षु आनन्द र धर्मदासका नाउँमा त्यस संस्थामा रु ४ लाख ६० हजार जम्मा गरिराखेकोमा हाल म्याद सकिएको हुँदा नवीकरण गरिदिनुहुन अनुरोध छ भनी उल्लेख गरिएको छ ।

समितिको बैठक बसी निर्णय गरेर मात्र खाता सञ्चालकहरु परिवर्तन गर्नुपर्नेमा वीरेन्द्रले मनोमानी रुपले निवेदन लेखी खाता सञ्चालक समेत परिवर्तन गर्न सहकारीलाई अनुरोध पनि गरेका छन् । उनले अगाडि लेखेका छन् कि उक्त खाता सञ्चालनमा निम्नानुसार व्यक्ति र दस्तखत कायम गराईदिनुहुन स्पेशिफिकेशन कार्ड भरी निवेदन गरिएको छ ।

निवेदनमै भनिएको छ संघाराम विहारमा भिक्षु अश्वघोष अध्यक्ष, सुवर्ण शाक्य सचिव र विरेन्द्रराज शाक्य कोषाध्यक्ष रहेको पनि जानकारी गराइएको छ । विहार सञ्चालक समितिको बैठक नै नबसी विरेन्द्रको योजनामा निवेदन लेखिएको लेटरप्याडमै कोषाध्यक्ष रहेका धर्मदासको नाम केरमेट गरी विरेन्द्रले आफ्नो नाम लेखेका छन् । सदस्य रहेका भिक्षु आनन्दलाई निवेदनमा सदस्य नरहेका भनी लेखिएको छ । यसैगरी उनले निवेदनमै धर्मदासको मृत्यु भइसकेको उल्लेख गरेपनि मृत्युदर्ता प्रमाणपत्र भने पेश गरेका छैनन् ।

छापिएको लेटरप्याडमा केरमेट गरी पद नै परिवर्तन गरेको र त्यसका लागि बैठक बसी निर्णय गर्नुपर्नेमा कुनै प्रक्रिया पूरा नगरी पेश गरिएको निवेदनका आधारमा मिलन सहकारीले खाता सञ्चालकको नाम परिवर्तन गरेको छ । खाता सञ्चालकको नाम परिवर्तन गर्नु भनेको सम्पतिको स्वामित्व परिवर्तन हो, तर यति गंभीर कार्यमा सहकारीले सामान्य प्रक्रिया पनि पूरा गरेको पाइएन । विहारकै एक सञ्चालक सदस्य भन्छन् । स्थापित र प्रचलित प्रक्रिया पूरा नगरी लाखौं सम्पत्ती अर्काको नाममा गरिदिनुमा विरेन्द्र र सहकारीका सञ्चालकको मिलोमतो रहेको छ ।

विहार श्रोतका अनुसार विहार सञ्चालक समितिका तत्कालीन अध्यक्ष भिक्षु अश्वघोष जो अत्यन्त वृद्ध उमेरका थिए उनलाई विरेन्द्रले झुक्याएर खाता सञ्चालक नै परिवर्तन गर्ने पत्रमा हस्ताक्षर गराइएको बताइएको छ । यसैगरी भिक्षु आनन्द त्यहीं विहारमै रहेको भएतापनि वास्ता नगरी सचिव रहेका भलाद्मी स्वभावका सुवर्ण शाक्यलाई समेत गुमराहमा पारी निवेदनमा सही गराएको बुझिएको छ ।

सोझा र वृद्ध भिक्षु अश्वघोष तथा त्यतिबेला ९० वर्ष जति रहेका वृद्ध सचिव सुवर्णलाई समेत गुमराहमा पारी चेकमा हस्ताक्षर गराई मुद्दतिको व्याजसहित करिब ६ लाख रुपैयाँ निकालेर विरेन्द्रले बिना हिसाब आफैंले खाएका छन् । यो रकमका बारेमा मिलन सहकारीले समेत लेखापरीक्षणमा हालसम्म नदेखाएको पाइएको सहकारी श्रोतले उल्लेख गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार