
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको बलमा आएको व्यवस्था स्वीकार गर्ने तर त्यही व्यवस्थाका लागि सङ्घर्ष गरेका नेतालाई अपराधी करार गरिए आफूहरूलाई सैह्य नहुने
महासचिव विप्लव सीले भने, ‘हामी निराश हुनुपर्ने जरुरी छैन। आगोको भुङ्ग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ। माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ।’ उनले लघुवित्त, मिटर ब्याजीका कारण गाउँगाउँमा किसान पीडित भएको, उद्योगी व्यवसायी समस्यामा परेको र देशको जमिन केही सिमित मानिसको हातमा पुग्न लागेको भन्दै त्यसका विरुद्ध पनि प्रतिवाद जरुरी रहेको बताए।
उनले भने, ‘हामी एकताबद्ध भएर जानुपर्छ। नेपाललाई अझै रुपान्तरण गरेर पुनःसंरचनातर्फ लैजाने सोच्नुपर्छ। त्यो भएमात्रै हामी सफल हुनसक्छौँ। यो माओवादी आन्दोलन सफल हुने कुरा मात्रै होइन, नेपाली जनता नै सफल हुने कुरा हो।’
जनताले लडेर ल्याएको परिवर्तनलाई फर्काएर केही शक्ति २०४७ सालको संविधान लागु हुनुपर्छ भन्दै हिँडेकामा समेत महासचिव विप्लवको कडा प्रतिक्रिया छ। उनले भने, ‘त्यो कदापि स्वीकार हुन सक्दैन। त्यो समाधान पनि होइन। यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो। यसलाई अग्रगामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ।’
अहिले देखिएको समस्या अपूरो क्रान्तिको परिणाम भएको महासचिव विप्लवको भनाइ छ। उनले देशभक्त र क्रान्तिकारी शक्ति एक भए कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सकिने बताए।








