
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् ।
उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् ।
अनलाइनखबरसँग फोनमा कुराकानी गर्दै श्रेष्ठले रविलाई चेतावनीयुक्त शव्द बोलेका छन् ।
‘तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन ।’ उनले छोटो कुराकानीमा भनेका छन् -‘तर अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन ?’
अनलाइनखबरसँग फोनमा कुराकानी गर्दै श्रेष्ठले बोलेका केही अंशहरु यस्ता रहेका छन् ।
‘तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन । तर अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ? जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’







