
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफूहरूले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल गरिरहेको बताए ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै उनले कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरणमा जोड दिए ।
उनले भने, ‘जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियतको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् । तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौं ।’
राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताए ।
उनले थपे, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्यो भने ठूलो क्षति हुन्छ ।’
नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी रहेको बताए ।







