नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्ने घोषणा गरेका छन् ।

जेठ १५ गते सुर्खेतको दशरथपुरमा हुने जनसभा र पार्टी प्रशिक्षणलाई सम्वोधन गर्न त्यहाँ जान लागेका महासचिव विप्लवले आइतबार कोहलपुरमा नेकपा बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

महासचिव विप्लवले पुरानो सत्ता चरम संकटतिर गएको र यो पुरानै तरिकाले चल्न नसक्ने ठोकुवा गरे ।

उनले तत्काल नेकपा एमाले, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी बाहेक अरु कम्युनिष्ट शक्तिहरु बीच समाजवादी मोर्चा बन्ने सम्भावना रहेको दावी गरे ।

महासचिव विप्लवले नेपालमा अहिलेको संसदीय व्यवस्था असफल भएको भन्नेमा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, नेकपा समाजवादी पार्टी र आफ्नो पार्टी बीच मोटा मोटी सहमति भएकाले मोर्चा बन्ने सम्भावना रहेको खुलासा गरे ।

उनले दलाल संसदीय व्यवस्थालाई बदल्ने शर्तमा समाजवादी मोर्चा बन्ने बताउदै समाजवादी मार्चाले दलाल संसदीय व्यवस्थाको प्रणाली स्वीकार गर्न नसक्ने बताए ।
उनले जनताका लागि केही गर्ने इच्छाशक्ति नेकपामा रहेकाले अब यो भन्दा राम्रो व्यवस्था ल्याउन सबै कम्युनिष्ट शक्ति, देशभक्त, प्रगतिशील जनशक्ति र कम्युनिष्ट जनमतहरु एक ठाउँमा आउनुको विकल्प नरहेको समेत बताए ।

यसैविच जेष्ठ १५ गते सुर्खेतको दशरथपुरमा पञ्चायत विरूद्वको आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरूको सम्झनामा हुने स्मृति सभामा सम्बोधनका लागि महासचिव विप्लवसंगै स्थायी समिति सदस्य भरत सी पनि सुर्खेत पुगेको नेकपा सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार