
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको परिस्थितिमा ठूलो बदलाव आएको भन्दैं अहिले अमेरिकी साम्राज्यवाद नेपालमा प्रत्यक्ष रुपमा प्रवेश गरेको दाबी गरेका छन् ।
नेकपाको उपत्यकास्तरीय राजनीतिक प्रशिक्षणलाई संवोधन गर्दै महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवाद विरुद्धमा समाजवादी मोर्चा निर्माण गर्दै जनतामाझ जानुपर्ने तर्क गरे ।
‘हामीले जनतालाई भन्नुपर्छ, बुझाउन पर्छ । नेपालको विकल्प संसददेखि संसदसम्म होइन । यसलाई परास्त गर्नका लागि सामाजवाद चाहने शक्तिहरुसँग मोर्चाबन्दी गर्नु अपरिहार्य भयो ।’, उनले भने, ‘हामी सामान्य तरिकाले सोचिरहेका छौं । तर अमेरिका नेपालमा झोलाभरी पैसा, ट्रकभरी हतियार, दिमाख भरी षड्यन्त्र बोकेर आएको छ । उ नेपालमा सबै अस्त्र प्रयोग गरेर आफ्नो शैन्य अखडा बनाउन खोज्दै छ । हामी सतर्क हुनु जरुरी छ । जनतालाई समयमै सतर्क बनाउनु पर्ने भएको छ । अमेरिका गुलियो गोली ल्याएर आएको छ भनेर जनतालाई भन्नुपर्छ ।’
चितवन, बारा र तनहुँमा भएको उपनिर्वाचनको बेलामा भएका गतिविधिहरुले अमेरिका प्रत्यक्ष रुपमा नेपाल प्रबेश गरेको प्रमाणित भएको उनके भनाई थियो । ‘उपनिर्वाचनको बेलामा चितवन, तनहुँ, पूर्वतिर भएका गतिविधिहरुले नेपालमा नयाँ रुप लिएको छ । यसले नेपालको अर्थराजनीतिकमा ठूलो परिवर्तन ल्याएको छ ।’, उनले भने, ‘यसले नेपालका कम्युनिस्ट समाजवादीहरुमाथि खतरा छ । उनीहरुले न्यायालयमा आफ्नो मान्छे राखेको छ, सेनामा आफ्नो मान्छे राखेको छ, अहिले आएर राजनीतिमा पनि आफ्ना मान्छे ल्याए । अब नेपालमा अमेरिकी साम्रज्यवादी सत्ता आउँदैछ । नेपाल नयाँ ठाउँमा जाँदैछ । त्यही भएर नेपालमा समाजवादी मोर्चा आवश्यक परेको हो ।’
विप्लवले अमेरिकाले नेपालमा शैन्य अखडा बनाएर चीनलाई प्रहार गर्न खोजेको भन्दै यस्तो कदापि हुन नदिने बताए । ‘नेपालमा युक्रेन जस्तो सजिलो छ भनेर अमेरिकाले तानावाना बुनिरहेको छ । यो हामी कदापि सफल हुन दिदैनौं । हामीले अहिलेदेखि नै जनतालाई सू–सुचित गर्नुपर्छ । तपाईंहरु काठमाडौंका गल्लिगल्लीमा गएर जनतालाई बझाउनुहोस् ।’, उनले भने, ‘नेपालमा साम्राज्यवादको अन्तिम लक्ष्य चुनावबाट नयाँ जेलेस्की तयार पार्ने नै छ । यदी त्यसो भएन भने राजनीतिक नेतृत्वमाथि विभिन्न बहाना बनाएर प्रहार गर्ने, देशलाई गृह युद्धमा धकेल्ने र राष्ट्रपति साशन लगाउने षड्यन्त्र पनि संगसंगै बुनिएको छ ।’
युक्रेनमाथि रुसले गर्ने आक्रमणले नेपालको भूराजनीतिलाई पनि प्रभावित पार्ने भन्दै विप्लवले तेश्रो विश्व युद्धको समेत शंकेत गरे । ‘नेटो युक्रेनबाट फर्कियो भने नेपालमा पनि एक किसिमको हस्तक्षप घट्न सक्छ । यदी युक्रेनबाट नेटो नफर्किने र रुसले युक्रेनमाथि निर्णायक हमला गर्ने हो भने तेश्रो विश्व युद्ध हुन्छ । यो पहिला जस्तो हुनेवाला छैन । तेश्रो विश्वयुद्ध खतरनाक हुनेवाला छ ।’, उनले भने, ‘जेलेस्की नेटोबाट हट्ने निर्णय गर्न सकेनन् भने युक्रेन धोस्त हुन्छ । उसँग युद्ध थेग्ने तागत छैन् ।’
अमेरिकाले चीनका विरुद्धमा ताइवानमा पनि निऊँ खोजिरहेको भन्दै पछल्लो समय चिनियाँ नेतृत्व पनि आक्रामक देखिएको बताए । दलाल पुँजीवाद भनेको युद्धकै अर्को रुप भएको भन्दै यसले जताततै युद्धमात्रै चाहेको विप्लवको जिकिर थियो । ‘यसको प्रभावले नेपाललाई चुनौति थप्नेछ । हामीले जनतालाई सचेत ढंगबाट सू–सुचित गरेनौं भने देश दुर्घटनामा पर्ने खतरा छ ।’, उनले भने, ‘देश धोस्त हुने खतरा छ । टुक्रा टुक्रा हुने खतरा छ । अहिले अमेरिका गुलियो ललिपप लिएर आएको छ । सिधै हतियार लिएको आएको छैन । यसबारेमा जतालाई सचेत गराउनुपर्छ ।’







