
पूर्वमाओवादी घटक खासगरी समाजवादनिकट रहेका दलहरुबीच समाजवादी मोर्चा बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
गत फागुनमै गरिएको उक्त प्रयास त्यसबेला सफल नभएपछि अहिले उपयुक्त अवसर पारेर फेरि अघि बढाइएको हो। सकभर असार मसान्तभित्रै मोर्चा घोषणा गर्ने तयारी रहेको बुझिएको छ।
समाजवादी मोर्चा बनाउन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी रनेपाल समाजवादी पार्टी तयार भइसकेका छन्।
शान्ति प्रक्रियाका कतिपय मुद्दा टुंगिन बाँकी रहेको त्यसलाई पूरा गर्न समाजवादी मोर्चा बनाउने निष्कर्षमा पुगेको नेताहरुको दाबी छ ।
जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी घटकमा विभाजन भएर अहिले ७र८ दल बनेका छन्। तिनै घटकबीच एकतासम्म पुग्न गृहकार्य भइरहेको छ।
पार्टी एकता र मोर्चा निर्माणमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) भने तयार भइसकेको छैन। उसलाई समेत समेट्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।
पूर्वमाओवादीबीच एकतासहित समाजवादी मोर्चा निर्माणका लागि नेकपा माओवादी केन्द्रबाट प्रवक्तासमेत रहेका कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ , नेपाल समाजवादी पार्टी (नेसपा) बाट अध्यक्ष डा। बाबुराम भट्टराई र सहअध्यक्ष गंगानारायण श्रेष्ठ वार्तामा छन्।
एकता नभए पनि ५/६ दलको मोर्चा बनाएर असार मसान्तभित्र घोषणा गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका अनुसार विचार, कार्यदिशामा एक हुनेहरूबीच एकता गर्ने र अन्य कम्युनिस्ट घटकलाई मोर्चामा समेट्न महासचिव विप्लव क्रियाशील छन्।
उनले दलका नेतासँग संवाद गरिरहेका छन्। यसको ब्रिफिङ महासचिव विप्लवले पार्टीको आन्तरिक बैठकमा पनि गरिसकेका छन्।
‘यथाशक्य छिटो फाइनल गरेर समाजवादी मोर्चा बनाउने समझदारी जुटेको छ’, प्रवक्ता विश्वकर्माले भने, ‘जति छिटो बनायो, त्यति राम्रो भन्ने निष्कर्ष निकालेका छौँ।’
राष्ट्रियता जोगाउन देशभक्त, प्रगतिशील शक्ति एक ठाउँमा उभिएको उनको भनाइ छ। उनले यसलाई अग्रगामी र क्रान्तिकारीबीचको ध्रुवीकरणको प्रयास भनेर अर्थ्याए।
मुलुकको पछिल्लो जटिलता र संकटग्रस्त अवस्थाले आफूहरूलाई एकै ठाउँमा ल्याएको उनको तर्क छ।
समाजवादी मोर्चा बनाउन लागेको विषयमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले हालै चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसमक्ष पनि ब्रिफिङ गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा यही जेठ ५ गते पार्टीको टोलीसहित चीन भ्रमणमा गएका उनी जेठ १७ गते स्वदेश फर्किएका थिए।
भेटवार्ताका क्रममा चिनियाँ नेताहरूले वाम एकताप्रति चासो राख्दा उपाध्यक्ष सापकोटाले समाजवादी मोर्चा हुँदै कम्युनिस्टबीच एकतासम्म पुग्ने प्रयास भइरहेको सुनाएका थिए।







