पार्टी गठनको सुरुवाती समयमा तपाईंहरू एकीकृत जनक्रान्ति नबुझेको भए पढेर आउनू तर प्रश्न नगर्नू भन्नुहुन्थ्यो । तर तपाईंले विश्वास गरेकै नेताहरू तपाईंसँग रहनु भएन । त्यसमा कहाँ समस्या भयो ? कि एकीकृत जनक्रान्ति भन्ने चिजमै समस्या थियो ?

हामीसँग छुटेका साथीहरूका विषयमा धेरै जान चाहन्न । उहाँहरू फर्किनुपर्छ, फर्काउनु पर्छ । बहानामा गर्ने त्रुटीलाई सच्याउनु पर्छ, यथार्थमा आउनु पर्छ ।

बाँकी हामीले समाजवाद र क्रान्तिको विषयमा एकदमै नयाँ तरिकाले सोच्नुपर्छ भन्ने हो । अहिले आएका नयाँ विशेषताहरू सामाजिक, राजनीतिक, सूचना प्रविधि यस्तो ठाउँमा आइपुगेको छ कि जसले उन्नाइसौँ र बिसौँ शताब्दीले समात्न सक्दैन । त्यसैले समात्ने खालको दृष्टिकोण, कार्यक्रम, रणनीति, कार्यनीति तयार गर्नुपर्छ भन्ने थियो । त्यो एकदमै सही छ । त्यो हामीले बुझाउँदै गएका छौँ । छलफल भएको तहमा कसैले पनि यसलाई गलत भन्ने स्थिति छैन ।

हामीले मात्रै त अहिलेको समाजवादी मोर्चालाई पनि एकीकृत जनक्रान्तिकै एउटा अंगका रूपमा हेरेका छौँ । यसो नहुँदा क्रान्ति नै हुँदैन भनेर हामीले सोच्ने भयौँ । गणतन्त्रलाई बचाउने हो भने पनि हामीसँग सहकार्य गर्नुपर्ने देखिन्छ । यही व्यवस्थालाई रुपान्तरण गर्ने भने पनि हामीसँग सहकार्य गर्नुपर्छ भनेर आवश्यक ठान्नुभयो । हामीले पनि उहाँहरूसँग यो तरिकाले सहकार्य नगरेर क्रान्ति सम्पन्न हुँदैन भन्ने हामीलाई पनि छ । यही संश्लेषणभित्र यो सबै भइरहेको हो ।

तपाईंहरू जनतासँग जोडिने भनेर तपाईंहरू हिँड्नु भयो । तर समाजमा अनेकौँ संकटहरू देखा परे । तपाईंहरूको पार्टीले निर्णायक ढंगले केही गर्न सकेको देखिएन । कहीँ चुकियो भन्ने लाग्दैन ?

हाम्रो पार्टीका कारण हजारौँ नागरिकको जीवन सुरक्षित भएको छ । बाहिर सडकमा आएर नाराबाजी गर्ने कुरा र जनताको रक्षा गर्ने कुरा फरक छ । जस्तो कि अहिले मिटरब्याज र लघुवित्तले आत्महत्या गर्ने ठाउँमा नागरिकलाई पुर्यायो । त्यसलाई यथार्थमा हाम्रै पार्टीले रक्षा गरिरहेको छ । त्यो जनतालाई गएर सोध्दा थाहा हुन्छ ।

बाहिर सार्वजनिक हुने कुरामा केही अपुग भएको छ । जस्तो कि मिडियासँग सहकार्य गर्ने विषयमा कतै कमी भएको छ ।

देशका विभिन्न स्थानमा अस्पताल बनाउने, विद्यालय बनाउने, सार्वजनिक भवन बनाउने काममा हाम्रो पार्टीले काम गरेको छ । धरानमा हर्क साम्पाङजीले पानी ल्याउने कुरा राम्रो गर्नु भएको छ । तर त्यस्तो पानी ल्याउने काम हामीले देशभर कयौँ ठाउँमा गरेका छौँ ।

हाम्रो सूचना र सञ्चार क्षेत्रसँग घनिष्ठ हुनुपर्ने पाटोमा कही चुकेको हो । आधुनिक सूचना प्रविधिमा हाम्रो तालमेलको अभाव भएको हो कि भन्ने पनि महसुस् भएको छ । तर आन्दोलन वा जनतासँग कम जोडिएको होइन ।

तपाईंले भनेको एकीकृत जनक्रान्तिको समयमा भएका दुर्घटनाका मृतक र घाइतेका परिवार पनि असन्तुष्ट देखिन्छन् । जेलमा रहेका केही नेता कार्यकर्ता पनि अझै छुटेका छैनन् । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

पहिलो कुरा, राजनीतिक आन्दोलनमा द्वन्द्वात्मक भौतिकवाद पनि पछि परिसकेको छ । यही नियमले मात्रै चल्ने देखिँदैन । अब अनिश्चय र सम्भावनालाई पनि समाज विज्ञानमा जोड्न जरुरी छ । कुनै पनि मान्छे सबै ठीक र सबै गलत कोही पनि हुँदैन । चाहे नेता होस् चाहे कार्यकर्ता । सबैको रुपान्तरणको सम्भावना पनि हुन्छ, विघटनको सम्भावना पनि हुन्छ । त्यसरी हेर्दा यो स्वेच्छिक आन्दोलन हो ।

दोस्रो, हामी सबै घेराबन्दीका बीचमा लडेर आएका हौँ । कोही मान्छेले भन्ने बित्तिकै सबै ठीक भन्ने हुँदैन । राम्रो कुरा भनेपछि सबैको मान्ने । अरूले उचालेको भरमा भनेपछि मानिँदैन । हामी आफैं क्रान्तिमा होमिएका हौं । के मलाई कसैले घिच्याएर ल्याएको हो ? मैले बलिदान दिएँ भने आफ्नो इच्छाले हुने हो । त्यसको अपव्याख्या गर्दैमा ठूलो मान्ने हुँदैन ।

हाम्रो पार्टी नै हो, प्रतिबन्धकै बेलामा पनि शहीद र घाइतेका परिवारलाई भेट्न घरमा जाने । सक्दो आर्थिक सहयोग गर्ने पनि हामी हौँ । बच्चाबच्चीको रेखदेख गर्ने पनि हामी हौँ । त्यसैले कसैले बुझेन भने बुझाउनु पर्छ ।

तपाईं मुलुकमा अन्तर्राष्ट्रिय चुनौती थपिएको कुरा गरिरहनु हुन्छ । कोबाट कस्ता चुनौती देख्नु भएको छ ?

आजको विश्व तीव्र रूपमा ध्रुवीकृत भइरहेको छ । नेपालले सबै कुरामा हेक्का राख्नुपर्छ । हाम्रो जस्तो देशले सजिलै प्रतिक्रिया जनाउने वा मिसिने गरी सोच्नु हुन्न । युक्रेन युद्धमा नेपालले बोल्न जरुरी थिएन । भारत र चीन तटस्थ बसेका बेला आफूलाई खानै नपुगेर बस्नु परेको देशले हतारमा रसियाको विपक्षमा भोट हाल्न जरुरी थिएन ।

यत्रो भूमण्डलीकृत विश्वमा हामी आफू स्वाधिन हुने र पञ्चशिलको सिद्धान्तमा अडिग हुनुपर्छ । एकदमै गम्भीर परिस्थिति के छ भने नचाहेर पनि नेपालमा युक्रेनको जस्तै परिस्थिति सिर्जना हुनसक्छ ।

अहिले जुन चीनले बीआरआईका विषयमा बोल्यो भनेर आइरहेको छ, त्यसलाई पनि सही दृष्टिकोणले बुझ्नुपर्छ । अरू मुलुकले पहिले बोलेपछि ऊ पनि बोल्न बाध्य भएको हो । त्यो नेपालको कुरा होइन, उसले आफ्नो कुरा गरिरहेको छ । यो कुरालाई नेपालले बुझ्नुपर्छ ।

यसको समाधान भनेको हामीले राजनीतिलाई छिटो भन्दा छिटो स्थिरता हुँदै समाजवादतर्फ लैजानुपर्छ ।

नेकपाका महासचिव विप्लव सीसँग अनलाइन खबरले लिएको अन्तर्वाताको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार