
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लव सीले अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको बताएका छन् ।
समाजवादी कोर्चाको विषयमा उनले अस्थिरता र आर्थिक संकटले अस्थिर बनेको मुलुकलाई सुव्यवस्थित र संगठित तरिकाले निकास दिन चार राजनीतिक दलका बीच सहमति बनेको भनाइ थियो ।
पार्टी केन्द्रीय कार्यालय शिवगढीमा कान्तिपुरसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यस क्रममा विप्लव सीले समाजवादी मोर्चामा आफूहरू सामेल भए पनि आफ्नो पार्टीलाई संसदवादी पार्टीको रुपमा हेर्न नहुने जिकिर गरेका थिए ।
‘माओवादी पार्टीहरुबीचको एकता वस्तुगत रुपले बन्न जरुरी भएको छ । त्यसका लागि छलफलहरु चलेका छन् । तर सुव्यवस्थित तरिकाले विषयमा प्रवेश गरेका छैनौं । एकता हुने विषय मुख्य भएपछि त्यसमा छलफल गरेर संगठनात्मक क्षेत्रमा नीति, विचार र कार्यक्रमले माग गरेअनुसार पदमा बस्न हामी जो कोही जहाँ पनि तयार छौं’ विप्लव सीले भनेका छन् ।
यस्तै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भइरहेको वार्ताको सन्दर्भमा पार्टी एकता मात्र नभएर राष्ट्रिय स्वाधिनता, यथास्थितीवादी प्रवृत्तिबारे पनि छलफल भएको उनले बताए ।
समाजवादी मोर्चामा आबद्ध भए पनि उनले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताएका थिए । उनले भनेका छन्, ‘आवश्यकता पर्यो भने संघर्ष र आन्दोलन गर्न पनि पछि पर्दैनौं ।’
चार दलबीच बनेको मोर्चाले देशलाई स्थिरता र निकास दिने भन्दै उनले आफूहरू पनि मोर्चामा सामेल भएको बताएका थिए । साथै अहिलेसम्मका उपलब्धि रक्षा गर्न आफूहरू मोर्चामा आएको उनले स्पष्टीकरण दिएका छन् ।







