
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु अर्को हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । कूटनीतिक स्रोतका अनुसार लु आगामी हप्ता नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन ।
‘अलिक अगाडिदेखि नै उहाँ आउने तयारी हो । अर्को हप्ता आउने निश्चित भएपनि बाँकी धेरै कुरा तयारीकै चरणमा छ,’ स्रोतले भन्यो ।
अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ । उनी केही घण्टामात्र नेपालमा रहनेछन् । अमेरिकी पक्षले उनको यो नियमित भ्रमण भनेको छ ।
लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।
त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।
नेपालमा एमसीसी परियोजना पारित गराउन महत्वपूर्ण भूमिका खेलेका मानिएका लु सो समयमा नेपाल आएपछि एसपीपी परियोजनामा पनि नेपालले पूनर्विचार गर्नसक्ने आशंका गरिएको थियो । यद्यपि, उनले त्यस विषयमा खासै छलफल गरेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका लुले दुई दिनको नेपाल बसाइमा उनले नेपाल(अमेरिका व्यापार सम्बन्ध र सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।
नेपालको संसदबाट एमसीसी पारित हुनुपूर्व १ मंसिर २०७८ मा आउँदा उनले समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल(अमेरिका सम्बन्धका विषयमा छलफल गरेका थिए ।
त्यसपछि एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।
संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । एमसीसी अनुमोदन भएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा देश दुर्घटना हुनबाट जोगिएको बताएका थिए ।
उक्त संवादलाई लिएर व्यापक आलोचनासमेत भएको थियो । दलका प्रमुख नेताहरूसँगको संवादमा उनले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको सूचना बाहिरिएको थियो ।
त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै टिप्पणी गरेको थियो । लुको टेलिफोन संवाद र चीनको अतिरिक्त चासोसहित भएको टिप्पणी दुवैलाई लिएर नेपालमा चर्को विरोध भएको थियो ।
यसैबीच बहुचर्चित अमेरिकी अनुदान परियोजना एमसीसी आगामी भदौबाट कार्यान्वयन गर्ने तयारी सुरु भएको छ। नेपाल र अमेरिकाबीच भदौ दोस्रो सातासम्ममा एमसीसी कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ।
त्यसैगरी एमसीसी परियोजना कार्यान्वयनमा गएलगत्तै त्यसका प्रमुख कार्यकारी अधिकृत एलिस पी। अलब्राइट सेप्टेम्बरमा नेपाल आउने कार्यक्रम तय भएको एमसीए नेपालका एक अधिकारीले जानकारी दिए।







