नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अमेरिकाका कारण कोरिया प्रायद्वीपमा कुनै पनि बेला युद्ध भड्किन सक्ने बताएका छन् ।

कोरियाको ७० औँ विजय दिवसको अवसरमा कोरिया पुनःएकीकरण सहयोग समितिले सोमबार एक प्रवचन कार्यक्रममा बिुजुक्छेले यस्तो बताएका हुन् ।

बिुजुक्छेले कोरिया प्रायद्वीपमा शान्तिको निम्ति संरा अमेरिकाले दक्षिण कोरियाबाट अमेरिकी सेना तथा हतियार फिर्ता गर्नुपर्ने भन्दै युद्धको खतरा रहेकैले जनवादी गणतन्त्र कोरियाले हतियारमा धेरै रकम खर्च गर्नुपरेको भनाइ राखे ।

अध्यक्ष रोहितले जनवादी कोरियालाई हतियारमा खर्च गराउनको निम्ति शान्ति सम्झौता नगरिएको भन्दै अमेरिका बलियो भएसम्म युद्धको खतरा रहने बताए ।
कोरिया युद्धमा अमेरिका पराजित नभएको भए युद्ध अझ लम्बिन सक्थ्यो भन्दै युद्ध लम्बिएको भए युद्धकै कारण तहसनहस भएको रूस र भर्खरै जनवादी गणतन्त्र चीनलाई युद्ध थेग्न गा¥हो हुने बताए ।

जनवादी कोरियाले विगत ७० वर्षमा धेरै दुःख खेपेको उल्लेख गर्दै पूर्णतः ध्वस्त भएको प्योङयाङलगायतको पुनर्निर्माण गर्न धेरै वर्ष लागेको बताए ।

नेपालस्थित जनवादी गणतन्त्र कोरियाका राजदूत जो योङ मानले समाजवादी निर्माणमा अगाडि बढिरहेको भन्दै प्रजग कोरियाका जनताले कोरियाली मजदुर पार्टीलाई पूर्णतः साथ र समर्थन गर्दै आएको बताए ।

मानले कोरियाली जनताले रगतको मूल्यमा समाजवादी व्यवस्थालाई बचाइरहेको भन्दै संरा अमेरिकी साम्राज्यवाद एकदिन पराजित हुने दाबी गरे। राजदूत मानले प्रजग कोरिया स्वतन्त्रता, न्याय र समाजवादको विजयको प्रतीकको रूपमा सदा रहने धारणा राखे ।

कार्यक्रमका सभापति एवम् कोरिया पुनःएकीकरण सहयोग समिति नेपालका अध्यक्ष प्रेम सुवालले अमेरिकी साम्राज्यवादले जनवादी कोरियामाथि विगत ७० वर्षदेखि नाकाबन्दी लगाइरहेको भन्दै तत्कालै नाकाबन्दी हटाउनु पर्ने विचार राखे।

कार्यक्रममा प्रजग कोरियासम्बन्धी एक वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार