नुवाकोट–जितगढी युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा २ सय ३ वर्षदेखि पाल्पाको तानसेनमा निरन्तर विजयोत्सव खटयात्रा निकाल्ने गरिएको छ । नेपाल–अंग्रेज युद्धको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन निकालिनेन विजयउत्सवमा हजारौं श्रद्धालुको सहभागिता रह्यो ।

थोरै सेना, घरेलु हातहतियारसहित युद्धमा फौजको नेतृत्व गरेका तत्कालीन कर्णेल उजीरसिंह थापाले बुटवल क्षेत्रलाई अंग्रेजबाट जोगाएका थिए । उनै थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई खटयात्रा निकाल्ने भाकल गरेको इतिहासविद् निर्मल श्रेष्ठले बताए । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएका थापाले तत्कालीन प्रशासनिक केन्द्र तानसेनमा १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरेका हुन् ।

तीनतले भव्य मन्दिर बनाएर १८७७ भाद्र कृष्ण नवमीका दिनदेखि भगवतीको खटयात्राले बजार परिक्रमा सुरु गरेको इतिहास छ । तात्कालीन कर्णेल थापाको नेतृत्वमा लडाइँमा गएको फौजले वि.सं. १८७२ वैशाख ७ गते नुवाकोट–जितगढी युद्ध जितेको हो । यसपटक खटयात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र कर्णेल उजिरसिंह थापाका नाती तथा पलातीसहित हजारौं श्रद्धालु सहभागी भए ।

जिल्लाका सरकारी कार्यालय, संघसंस्था, टोल विकास समूहहरू सबै खटयात्रासँगै तानसेन बजार परिक्रमा गरेका थिए । खटयात्रामा भजनकिर्तन, पञ्चेबाजासहितको सांस्कृतिक झाँकी र्‍याली सहभागी थिए । भगवती मन्दिरबाट निशान, मूलढोका हुँदै दरबारमा प्रशासन, प्रहरी, सशस्त्र, जिल्ला समन्वय समितिले पूजा दिएपछि सर्वसाधारणका लागि पूजा दिने प्रचलन छ । कर्णेली पूजाका साथै नेपाली सेनाको गणभित्र पुगेर पूजा दिने परम्परा पनि कायमै छ ।

तानसेनमा यसको विजयोत्सवका रुपमा भने कर्णेल थापाले खटयात्रा गराएपछि सुरु भएको हो । तानसेन नगरपालिका–३, भगवतीटोलस्थित भगवतीको रथलाई सिन्दुरजात्रा गर्दै खटमा राखेर बजार परिक्रमा गर्ने प्रचलन निरन्तर छ । तत्कालीन कर्णेलले फौज तयार गरी अंग्रेज फौजसँग पाल्पाको नुवाकाट हुँदै जितगढीमा लडाइँ लड्न जाने निधो गरे । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार जानुअघि उनले तानसेन दरबार नजिकै रहेको भगवती मन्दिरमा भाकल गरेका थिए ।

हामी रणभूमितर्फ प्रस्थान गर्दै छौं । रण—विजय हजुरको शक्ति र आर्शिवाद मिलोस् । रण विजय भएमा दिव्य मूर्तिलाई एक सुन्दर मूर्तिभित्र प्रतिस्थापन गरी बर्सेनि खटयात्रा गराउनेछु,’ भनी थापाले भाकल गरेर युद्धमा गएको किंवदन्ती रहेको इतिहासविद् श्रेष्ठले बताए । नेपालका अन्य चार स्थानमा भने नेपाली फौज पराजित भएको इतिहास छ । ‘एकमात्र बुटवलनजिकै (जितगढी) मा भएको युद्धमा उजीरसिंहको सेनाले अंग्रेजलाई पराजित गर्न सफल भए,’ उनले भने, ‘जसका कारण अंग्रेज फौज फर्केर भारततर्फ गयो । फलस्वरूप नेपाल स्वाधीन रहन सकेको थियो ।’ रथयात्राको महत्त्वका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारले बुझ्न नसकेको संस्कृतिविद् राजेन्द्र गोपाल सिंहले बताए । त्यसैले यहाँको रथयात्राको विषयलाई गम्भीरताका साथ लिइएको छैन ।

पहिले पहाडैपहाड गएर नुवाकोटगढीलाई ध्वस्त पार्ने थियो । अर्को जितगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा आक्रमण गर्ने योजना बनाएका थिए । अंग्रेजको फौज सिउराज क्याम्पमा पाँच कम्पनी र एउटा तोप छाडेर अरु सबै लिएर जनरल उडको नेतृत्वमा बुटवलको युद्धमा आएको इतिहासमा उल्लेख छ । दुवै पक्षबीच घमासान युद्ध भयो । किल्लाको दाहिनेतिरबाट हमला गर्नेहरूको टोलीबाट सरदार सूर्य थापाले वीरगति प्राप्त गरे । लडाइँ हुँदा किल्ला रहेको जमिनभन्दा माथिल्लो ठाउँमा पनि घमसान युद्ध भइरहेको थियो । यसै बखत कर्णेल उजीरसिंह थापा पनि नुवाकोटमा रहेको बाँकी सवूज र गुरुवक्स पल्टनका फौजहरू लिई जितगढीभित्रैबाट युद्धको नेतृत्व गर्न थालेका थिए ।

गोरखालीहरूको सैनिक शक्तिभन्दा अंग्रेजहरूको ज्यादा भएकाले युद्ध लडिरहेका थिए । नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको इतिहासमा उल्लेख छ । नेपाली फौजको साहस र रणकौशललाई नजिकबाट स्पर्श गरेका जनरल उडलाई नेपाली फौजको गढीभित्र प्रतिकूल स्थिति भएको थियो । त्यसैले उनीहरू पहाड उक्लिन सकेनन् । अझ कर्णेल उजीरसिंह थापा बाँकी फौज लिएर नुवाकोट गढी छाडी जीतगढीमा झरेपछि नुवाकोट खाली भएको थियो । नुवाकोट गढी पुग्न सजिलै भएको कुरा पारिपट्टिको बाटो (हाल राजमार्ग) भई नुवाकोट रेकी गर्न पुगेका मेजर कोमिन फर्केपछि मात्र उडलाई स्थितिको ज्ञान भयो । यसले झन् जनरल उडलाई युद्धकलामा नेपालीहरूभन्दा आफूपछि परेको भान भयो ।

थापाले सट्टामा महिला–पुरुष दुवैलाई अंग्रेज फौजविरुद्ध उतारेका थिए । युद्धको नेतृत्व कर्णेल उजीरसिंहले गरेका हुन् । जो बलभद्र थापाका भतिजा थिए । पाल्पाली राजाको सहयोग गर्न उनले भतिजा थापालाई कर्णेल बनाएर पठाएका हुन् । फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएको थियो । विभिन्न कारणले नेपालीले पाँच ठाउँमध्ये चारमा पछाडि फर्कनुपर्‍यो, ९ हजार ४ सय वर्गकिलो मिटर भू–भाग गुमाउन पर्‍यो । ‘नुवाकोट–बुटवल क्षेत्रमा जुन युद्ध भयो, नेपालले एक इन्च भू–भाग पनि गुमाउनुपरेन,’ इतिहासविज्ञ श्रेष्ठले भने, ‘पाल्पा बुटवल क्षेत्रको तैनाथी लिएर आएका कर्णेल थापा दलमुख भई लडाइँ लडिसकेर विजय हासिल गरी विजय पताका फहराएका थिए ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार