जो बाइडेन र सी चिनफिङबीच बुधबार सान फ्रान्सिस्कोमा चार घण्टा लामो वार्ता भयो। बालीमा भेट भएको एक वर्षपछि उनीहरु वार्तामा बसेका हुन्।

तर, यो भेटवार्ताले पनि तनावपूर्ण द्विपक्षीय सम्बन्धलाई सही मार्गमा ल्याउनेमा आशंका कायमै छ। किनभने दुई मुलुकबीच धेरै विषयमा अत्यन्त ठूलो मतभेद देखिन्छ। बुधबारको वार्तामा पनि खासै महत्वपूर्ण सम्झौता भएनन्।

बाइडेन र सीबीचको भेटवार्ताका केही किस्साले चर्चा पाएका छन् :

१९८५ मा भविष्यका चिनियाँ राष्ट्रपतिले अमेरिकी भूमिमा पहिलो पाइला टेकेका थिए। त्यतिबेलाका ३१ वर्षीय सी चिनफिङले अमेरिका भ्रमण गर्दा उनी पहिलो पटक सानफ्रान्सिस्को ओर्लिएका थिए।

३८ वर्षपछि राष्ट्रपति र विश्वकै शक्तिशाली व्यक्तिका रुपमा सी सान फ्रान्सिस्को फर्केका छन्।

उतिबेलाको अमेरिका भ्रमणका अनेक सुमधुर सम्झना पनि ल्याएका होलान् सीले। तर, गोल्डेन गेट ब्रिजअगाडि उनले खिचाएको फोटो भने अति प्रचारित भएको छ। चीन र चीनबाहिरका सामाजिक सञ्जालमा समेत।

बुधबारको भेटका क्रममा बाइडेनले सीलाई सोही फोटो देखाएर सोधेका थिए, ‘यी तन्नेरीलाई चिन्नुहुन्छ ?’

‘चिन्छु नि !’ सीले जवाफ दिए, ‘३८ वर्षअगाडिको।’

त्यतिबेला सी चेङदिङ नामक एउटा सानो ग्रामीण काउन्टीको पार्टी प्रमुख थिए। उनी कृषि उद्योगबारे अध्ययन गर्न अमेरिका पुगेका थिए।

त्यतिबेलाका केही चिनारुहरुसँग सीले सम्पर्क कायम गरेका रहेछन्। हालैको भ्रमणमा उनले आयोवाका एक व्यक्तिलाई रात्रिभोजमा पनि निम्त्याएको बताइएको छ।

बाइडेनले गरे सीको कारको प्रशंसा

बाइडेनसँग वार्ता गर्न फिलोली नामक सय वर्ष पुरानो महलमा सी चीनमै निर्मित लिमोजिनमा चढेर आइपुगेका थिए। जसमा नम्बर प्लेट थिएन।

सीले बाइडेनलाई आफ्नो कार देखाए। बाइडेनले सो कार सुन्दर भन्दै प्रशंसा गरे।

यो कार चीनको कारनिर्माता होन्छीले निर्माण गरेको हो। एलफाइभ भनिने यो कार १९६० को दशकमा निर्मित सीए७७० कै आधारमा बनाइएको बताइन्छ। सो कार माओ चेतुङले प्रयोग गर्थे, जसलाई अहिले म्युजियममा राखिएको छ।

सीले बिर्सिए पत्नीको जन्मदिन

सी र बाइडेनबीचको सम्बन्ध निकै पुरानो हो। दुवै जना उपराष्ट्रपति हुँदा भएको भेटघाटबारे बाइडेन बारम्बार सुनाइरहन्छन्। तर बुधबारको भेटमा पुराना स्मृति कोट्याउने पालो सीको थियो।

‘यो १२ वर्षअघिको कुरा थियो,’ छोटो सार्वजनिक टिप्पणीका क्रममा सीले भने, ‘हामीबीचको कुराकानी म अझै स्पष्ट सम्झिन्छु। यसले मलाई सोच्न प्रेरित गर्छ।’

आपसी कुराकानीमा बाइडेनले भने सीकी पत्नी पेङ ल्युआनको जन्मदिनको शुभकामना दिए।

बाइडेन र पेङ दुवैको जन्मदिन २० नोभेम्बरमा पर्छ।

एक अमेरिकी अधिकारीको भनाइ उल्लेख गर्दै द गार्डियनले लेखेअनुसार बाइडेनले पत्नीको जन्मदिनको शुभकामना दिँदा सी लजाए र आफूले पेङको जन्मदिन निकट आइपुगेको कुरा बिर्सेको बताए।

मीठो स्वागत, तीतो विदाई

बाइडेन र सीबीच सान फ्रान्सिस्कोको फिलोली महलमा भेट भएको थियो। सीप्रति सम्मान व्यक्त गर्न प्रचलन तोडेर महलकोको द्वारमै पुगेर बाइडेनले उनलाई स्वागत गरे।

तर, यो न्यानोपन कूटनीतिक मधुरता मात्र थियो भन्ने भेटपछि देखियो।

अमिल्दा र तिक्त विषयहरुमा चार घण्टा लामो वार्तापछि सी विदा भए। त्यसपछि आयोजित पत्रकार सम्मेलनको अन्त्यमा बाइडेनलाई सोधियो– ‘तपाईं अझै सीलाई तानाशाह मान्नुहुन्छ ?’

‘हेर्नुस्, उहाँ तानाशाह हो,’ बाइडेनले भने, ‘मतलब उहाँ यसर्थमा तानाशाह हो कि उहाँ त्यस्तो देश चलाउने व्यक्ति हो, जुन कम्युनिस्ट मुलुक हो।’

यसअघि बाइडेनले सीलाई तानाशाह भन्दा चीनले क्रुद्ध प्रतिक्रिया दिने गरेको थियो। के यो अभिव्यक्तिले पनि पछिल्लो वार्तामा भएका सीमित प्रगतिहरुमा पनि अवरोध सिर्जना गर्ने त होइन ?

एजेन्सी

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार