युरोप किन जलिरहेको छ ?

फ्रान्स जलिरहेको छ । आन्दोलन निकैं उग्र बनिरहेको छ । फ्रान्स ध्वस्त भएको अवस्थातिर गएको देखिन्छ । फ्रान्स मात्रै होइन, इटालीमा पनि त्यस्तै छ, बेल्जियममा पनि त्यस्तै छ र अल्बानियामा पनि त्यस्तै छ ।

यो रोग सर्दै जाँदा पूरै युरोपभरि फैलिरहेको छ । मानिसहरू आफ्नै देशमा आगो लगाइरहेका छन् अनि सेल्फी खिचिरहेका छन् । सयौँ वर्ष पुराना संरचनाहरू ध्वस्त भएका छन् । सम्पदाहरू नष्ट भएका छन् । गाडी, मोटर र जे भेट्यो, त्यही सबै कुरा ध्वस्त पारिरहेका छन् । मानिसहरू आफ्नै देशमा लुटपाट र आगजनी गरिरहेका छन् ।

धेरैले फ्रान्सको पछिल्लो आन्दोलनको स्वरुप नेपालको जेन जी आन्दोलनको परिदृश्यजस्तैं ठानिरहेका छन् ।

हामीले कल्पना गर्ने गरेको सुन्दर युरोप, फ्रान्सको पेरिस—सायद अब रहनेछैन । तपाई हामी बिदा मनाउन युरोपतिर गइयो भने हामीले कल्पना गरेजस्तो दृश्य नदेख्न पनि सक्छौँ । युरोप त्इो स्थितिमा पुगेको देखिन्छ ।

यसको कारण के हो ?

धेरैंले युरोपमा भइरहेको यो सबै घटनाको कारण आप्रवासीहरू हुन् या विशेषगरी मुस्लिम र अफ्रिकी आप्रवासीहरू हुन् भन्ने कुरा त्यहाँका दक्षिणपन्थीहरूले भनिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरूले पनि त्यही भनिरहेका छन् । नेपालमा कतिपय मानिसको बुझाइ पनि त्यही छ ।

तर यो पूर्ण सत्य होइन । यो अपूर्ण बुझाइ हो । यसमा केही सत्यता त हुन सक्छ, तर यो सम्पूर्ण सत्य होइन ।

आप्रवासीलाई दोष दिने भाष्य कसले फैलाइरहेको छ ?

यसका लागि सबैभन्दा पहिले यो भाष्य कसरी निर्माण भयो भन्ने बुझ्नुपर्छ । कसले भनिरहेको छ—आप्रवासीहरूका कारण तिम्रा देशहरू बर्बाद भए ? उनीहरूलाई यहाँबाट निकाल । उनीहरूलाई देशबाट निकालेपछि मात्रै तिम्रो देश स्वर्ग बन्छ ?

यो भनिरहेको को छ, पहिले त्यो हेरौँ । त्यसपछि यसको कारण बुझ्ने प्रयास गरौँ । सबैभन्दा पहिले एलन मस्कको एउटा अन्तर्वार्ता सुनौँ। उनी के भन्दै छन्, ध्यान दिएर सुनौँ।

एलन मस्कले हालैं एक पोडकास्टमा भनेका छन्  ”……पश्चिमी मूल्य–मान्यता स्वीकार गर्ने मानिसहरूलाई मात्रै पश्चिमी समाजमा बस्न दिनुपर्छ भन्ने कुरामा धेरै मानिस सहमत हुनेछन् । यदि त्यस्तो हुँदैन र सीमाहरू सुरक्षित हुँदैनन् भने समस्या उत्पन्न हुन्छ । जब तपाईंसँग यस्तो कल्याणकारी राज्य हुन्छ, जसले त्यहाँ आउने मानिसहरूलाई उल्लेख्य सुविधा उपलब्ध गराउँछ, तब आफ्नो देशको जीवनस्तरभन्दा युरोपको जीवनस्तर राम्रो भएका मानिसहरूलाई त्यहाँ आउन बलियो आर्थिक प्रोत्साहन मिल्छ । युरोपमा पाइने सुविधा र जीवनस्तर आफ्नो देशमा पाइनेभन्दा राम्रो हुन्छ भने मानिसहरू त्यहाँ आउन चाहन्छन् ।”

एलन मस्कले के भन्न खोजिरहेका छन् भने युरोपमा रहेका समस्याहरूको एउटा प्रमुख कारण आप्रवासीहरू हुन् । युरोपमा आप्रवासीहरू आउनुको अर्को कारण त्यहाँको कल्याणकारी व्यवस्था अर्थात् वेल्फेयर सिस्टम हो भन्ने उनको तर्क छ ।

वेल्फेयर सिस्टम भनेको नागरिकहरूलाई राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा तथा सार्वजनिक सुविधाको व्यवस्था हो ।

युरोपको वेल्फेयर सिस्टम के हो ?

युरोपमा वेल्फेयर सिस्टम छ, जसले नागरिकलाई सामाजिक सुरक्षाको एउटा आधार दिन्छ ।

कसैको जागिर गयो भने ऊ एकैपटक जीवनयापन गर्न नसक्ने अवस्थामा पुग्नुपर्दैन । सम्बन्धित देशको नियम र योग्यताअनुसार सरकारले बेरोजगारी भत्ता वा अन्य सहयोग दिन सक्छ । स्वास्थ्य उपचार, शिक्षा र सामाजिक सुरक्षाका विभिन्न सुविधा पनि उपलब्ध हुन सक्छन् ।

अमेरिकामा त्यो सिस्टम छैन थोरैं थोरैं सरकारी सामाजिक सुरक्षा तथा स्वास्थ्य सहायता कार्यक्रमहरू छन् । युरोपका धेरै देशको तुलनामा अमेरिकी स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको संरचना फरक छ । विशेषगरी स्वास्थ्य बीमा नभएका मानिसले उपचारको खर्च धान्न कठिनाइ भोग्न सक्छन् ।

युरोपको त्यही वेलफेयर अर्थात् सामाजिक सुरक्षा व्यवस्थाले अमेरिकी आर्थिक तथा राजनीतिक वृत्तका केही मानिसलाई असहज बनाएको छ देखिन्छ ।
यसका पछाडि विभिन्न कारण छन् ।

एउटा कारण युरोपको ठूलो बजार हो । त्यो बजारमा आफूखुसी जे पाए त्यही बेच्न पाइँदैन । सामान तथा सेवाले निश्चित मापदण्ड पूरा गर्नुपर्छ ।
विशेषगरी तीनवटा क्षेत्रमा युरोपका नियमहरू महत्वपूर्ण छन् ः १. औषधी उद्योग । २. खाद्य उद्योग। ३. सवारीसाधन उद्योग ।
यी तीनवटै क्षेत्रमा युरोपमा आफ्ना उत्पादन बेच्न चाहने कम्पनीहरूले सम्बन्धित मापदण्ड तथा नियमहरू पूरा गर्नुपर्छ ।

औषधी उद्योग ः युरोपको बजारमा किन छ अमेरिकी कम्पनीहरूको चासो ?

अमेरिकी औषधी कम्पनीहरूले युरोपको बजारमा आफ्नो इच्छाअनुसार काम गर्न पाउँदैनन् ।

युरोपका धेरै देशमा स्वास्थ्य सेवा र औषधीको मूल्य निर्धारणमा सरकारले महत्वपूर्ण भूमिका खेल्छ । औषधीको मूल्य, गुणस्तर, स्वीकृति र जेनेरिक औषधीको उपलब्धतासम्बन्धी नियमहरू हुन्छन् ।

यसले गर्दा औषधी कम्पनीहरूले आफ्नो इच्छाअनुसार मूल्य निर्धारण गर्न सक्दैनन् ।

अमेरिकामा एउटै औषधीको मूल्य युरोपका कतिपय देशमा भन्दा धेरै बढी हुन सक्छ । औषधीको मूल्य निर्धारण र स्वास्थ्य सेवा प्रणालीमा रहेका भिन्नताका कारण यो अवस्था आएको हो ।

अमेरिकी औषधी कम्पनीहरूले युरोपमा आफ्नो औषधी अमेरिकाको तुलनामा ५० देखि ८० प्रतिशतसम्म सस्तोमा बेच्नुपर्ने हुन्छ ।

अमेरिकामा १०० रुपैयाँ पर्ने औषधी युरोपमा ३० रुपैयाँमा बेच्नुपर्ने हुन्छ । यति ठूलो बजार हुँदाहुँदै पनि औषधी उद्योगले आफूले चाहेजति नाफा कमाउन पाउँदैन भन्ने अमेरिकी कम्पनीहरूको गुनासो हुन सक्छ ।

त्यसैले युरोपेली संघमाथि व्यवस्थित रूपमा प्रहार भइरहेको छ देखिन्छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अर्थात् एनएचएसलाई कमजोर बनाउने प्रयासमा पनि औषधी तथा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक स्वार्थ भएका समूहहरू संलग्न छन् भन्ने देखिन्छ ।

युरोपेली संघका अन्य देशमा पनि यस्तै चलखेल भइरहेको हुन सक्छ । यी देशहरूलाई अलग–अलग बनाउन सकियो र युरोपेली संघका साझा नियमबाट बाहिर ल्याउन सकियो भने ठूलो बजारलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न सकिन्छ भन्ने आर्थिक स्वार्थ यसमा जोडिएको हुन सक्छ ।

औषधी उद्योगको कारोबार अर्बौँ डलरको हुन्छ । त्यसैले यो सानो आर्थिक स्वार्थ होइन ।

एलन मस्क किन युरोपेली संघको आलोचना गर्छन् ?

एलन मस्कले युरोपेली संघबारे अर्को विवादित भनाई बोलिरहेका छन् ।

उनी भन्छन् ः ‘मलाई लाग्छ, बेलायतले युरोपेली संघ छोड्नु राम्रो थियो, किनभने युरोपेली संघमा अत्यधिक कर्मचारीतन्त्र र प्रशासनिक झन्झट छ ।’

मस्कको भनाइ के हो भने युरोपेली संघमा अत्यधिक कर्मचारीतन्त्र छ । सामान बेच्न पनि धेरै नियम पूरा गर्नुपर्ने हुन्छ र विभिन्न प्रशासनिक झन्झटहरू छन् ।
बेलायतले युरोपेली संघ छोडेर राम्रो ग¥यो भन्ने उनको धारणा छ । मस्क युरोपेली संघ टुक्रियोस् भन्ने चाहना राख्ने व्यक्ति हुन् । उनले सामाजिक सञ्जाल एक्समा युरोपेली संघको आलोचना गर्ने गरेका छन् ।

उनले विभिन्न देशका मानिसहरूलाई युरोपेली संघमा बसेर समस्या भइरहेको छ, त्यसैले बाहिर निस्कनुपर्छ भन्ने सन्देश दिने गरेका छन् ।

जर्मनीलाई पनि त्यही फ्रान्सलाई ठानिरहेको छ अमेरिकाले । विभिन्न देशलाई युरोपेली संघबाट बाहिर निस्कन प्रोत्साहित गर्ने भाष्य चलाइन्छ अमेरिकी वृतबाट ।
युरोपेली संघ भनेको विभिन्न देश मिलेर बनेको संस्था हो । यी देशहरू आफैँ मिलेर यो संस्था निर्माण गरेका हुन् । त्यसो भए सबै देश -यूरोपेली)लाई एउटै सन्देश किन दिइँदै छ—युरोपेली संघमा बसेर तिमीहरूलाई समस्या भयो, अब बाहिर निस्क !

यसको पछाडि राजनीतिक तथा आर्थिक स्वार्थ हुन सक्छ ।

यी देशहरू अलग–अलग भए भने युरोपेली बजारमाथि आफ्नो प्रभाव विस्तार गर्न सजिलो हुन्छ भन्ने कुरा यससँग जोडिएको हुन सक्छ ।
खाद्य उद्योग ः युरोपमा अमेरिकी खाद्य उत्पादनमाथि भएको कडा नियम

अब अर्को विषय खाद्य उद्योगको हो । युरोपमा खाद्य सुरक्षासम्बन्धी मापदण्डहरू कडा छन् । कुनै पनि कम्पनीले जस्तोसुकै सामग्री प्रयोग गरेर खाद्य उत्पादन बेच्न पाउँदैन । उत्पादनले सम्बन्धित सुरक्षा नियम तथा मापदण्ड पूरा गर्नुपर्छ ।

अमेरिकी सञ्चारमाध्यममा पनि प्रशोधित खाद्य पदार्थमा प्रयोग गरिने सामग्री, रासायनिक पदार्थ र तिनको सम्भावित स्वास्थ्य प्रभावबारे विभिन्न समाचारहरू आइरहेका हुन्छन् ।

केही प्रशोधित खाद्य पदार्थको सेवन र मोटोपना, मधुमेह तथा अन्य स्वास्थ्य समस्याबीच सम्बन्ध रहेको विषयमा अनुसन्धानहरू भएका छन् । कतिपय पदार्थमाथि स्वास्थ्य जोखिमका कारण प्रतिबन्ध वा नियमन पनि गरिएको छ ।

अमेरिका र युरोपमा खाद्य सुरक्षा, खाद्य सामग्रीको प्रयोग तथा नियमनसम्बन्धी नियमहरू फरक छन् ।

युरोपले आफ्नो बजारमा खाद्य पदार्थ बेच्न आउने कम्पनीहरूलाई कडा मापदण्ड पूरा गर्न लगाउँछ । यसले गर्दा केही अमेरिकी कम्पनीले आफ्ना सबै उत्पादन युरोपमा बेच्न पाउँदैनन् ।

चीनबाट फैलिएको कोरोना भाइरसबारे धेरै चर्चा गरियो, तर अमेरिकाबाट आएका उत्पादन र त्यहाँको खाद्य प्रणालीमा रहेका स्वास्थ्य जोखिमबारे चाहिँ पर्याप्त चर्चा हुँदैनन् ।

त्यसैले खाद्य उद्योग पनि युरोप र अमेरिकाबीचको आर्थिक प्रतिस्पर्धाको एउटा महत्वपूर्ण क्षेत्र हो ।
औषधी, खाद्य पदार्थ र सवारीसाधन—यी तीनवटै उद्योग विशाल बजारसँग जोडिएका छन् । युरोपेली बजारमा कडा नियमहरू कायम रहेसम्म अमेरिकी कम्पनीहरूले आफूखुसी काम गर्न पाउँदैनन् ।

यही कारणले अमेरिकी आर्थिक स्वार्थ र युरोपेली नियमनबीच टकराव उत्पन्न हुन सक्छ ।

युरोपको पैसा नागरिकका लागि कि हतियारका लागि ?

युरोपेली वेल्फेयर सिस्टमले अमेरिकी आर्थिक तथा राजनीतिक वृत्तका केही मानिसलाई असहज बनाउनुको अर्को महत्वपूर्ण कारण पनि छ ।
युरोपका धेरै देशले आफ्नो बजेटको ठूलो हिस्सा नागरिकको जीवनस्तर सुधार्न खर्च गर्छन् । शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, बेरोजगारी सहायता र सार्वजनिक सेवामा खर्च गरिन्छ।

त्यसको तुलनामा केही देशले लामो समयसम्म रक्षा खर्चमा कम हिस्सा छुट्याएका थिए । तरपनि युरोपका देशहरूबीच रक्षा खर्चको अवस्था एकनासको छैन ।
डोनाल्ड ट्रम्प सत्तामा आएपछि उनले युरोपेली देशहरूलाई नेटोमा बढी खर्च गर्न दबाब दिए । उनको भनाई थियो—अमेरिकाले मात्रै धेरै खर्च गरिरहेको छ, त्यसैले युरोपेली देशहरूले पनि रक्षा खर्च बढाउनुपर्छ ।

नेटोमा खर्च बढाउनुको अर्थ सैन्य क्षमता विस्तार गर्नु र हतियार तथा रक्षा उपकरणमा बढी पैसा खर्च गर्नु पनि हो ।

हतियार कसले बनाउँछ ?

‘लकहिड मार्टिन’जस्ता ठूला अमेरिकी रक्षा कम्पनीहरूले विभिन्न प्रकारका हतियार तथा सैन्य उपकरण उत्पादन गर्छन् । अमेरिकी र युरोपेली रक्षा कम्पनीहरूबीच प्रतिस्पर्धा पनि छ ।

युरोपेली देशहरूले आफ्नो रक्षा खर्च बढाउँदा अमेरिकी कम्पनीहरूलाई पनि व्यापारिक अवसर प्राप्त हुन सक्छ ।

त्यसैले युरोपेली देशहरूलाई रक्षा खर्च बढाउन दबाब दिइँदा त्यसले उनीहरूको बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका लागि उपलब्ध स्रोतमा दबाब सिर्जना गर्न सक्छ ।

यदि सामाजिक सुरक्षा घट्यो भने नागरिकमा असन्तुष्टि बढ्न सक्छ । सरकारले आफ्ना नागरिकलाई पर्याप्त सुविधा दिन सकेन भने राजनीतिक तनाव उत्पन्न हुन सक्छ ।

त्यस्तो असन्तुष्टिलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न सकिन्छ । त्यसपछि युरोपेली संघलाई कमजोर बनाउने र देशहरूलाई छुट्टाछुट्टै पार्ने प्रयासले थप ठाउँ पाउन सक्छ भन्ने देखिन्छ ।

मस्क र ट्रम्पको राजनीतिक भूमिकालाई पनि यही सन्दर्भमा बुझ्नुपर्छ ।

युरोपेली संघलाई कमजोर बनाउने प्रयास र बेलायतको उदाहरण

मस्कले सामाजिक सञ्जाल एक्समा युरोपेली संघको आलोचना गर्ने गरेका छन् । उनका भनाइहरूमा युरोपेली संघका प्रशासनिक नियम र कर्मचारीतन्त्रप्रति असन्तुष्टि देखिन्छ ।

ट्रम्पले पनि बेलायतलगायत युरोपेली देशहरूको राजनीतिक दिशाबारे पनि टिप्पणी गर्ने गरेका छन् ।

उनीहरूले युरोपेली संघ कमजोर भएको वा विभिन्न देशहरू अलग भएको अवस्थामा आफ्नो देशलाई फाइदा पुग्न सक्छ भन्ने हिसाबले राजनीति गरिरहेका छन् ।
युरोपेली देशहरू टुक्राटुक्रा भए भने उनीहरु सामूहिक रूपमा कम शक्तिशाली हुनेछन् । त्यस्तो अवस्थामा बाह्य शक्तिले प्रत्येक देशसँग छुट्टाछुट्टै वार्ता गर्न, दबाब दिन वा आफ्नो आर्थिक स्वार्थ अघि बढाउन सजिलो हुन सक्छ ।

तर यो पनि बुझ्नुपर्छ कि युरोपेली संघका समस्याहरू केवल बाह्य हस्तक्षेपका कारण मात्र उत्पन्न भएका होइनन् । यसमा आन्तरिक राजनीतिक मतभेद, आर्थिक असमानता, राष्ट्रिय पहिचान, आप्रवासन नीति र अन्य धेरै पक्ष जोडिएका छन् ।

युरोपमा भइरहेको हिंसा र नेपालमा भएको आगजनीलाई कसरी बुझ्ने ?

अहिले युरोपका विभिन्न ठाउँमा आगजनी, तोडफोड र हिंसाका दृश्यहरू देखाइँदैछन् ।

बाहिरबाट हेर्दा आप्रवासीहरू र युरोपेली नागरिकहरूले आफ्नै देशमा आगो लगाइरहेका छन्, आफ्नै सम्पदा नष्ट गरिरहेका छन् जस्तो देखिन्छ । तर प्रश्न यो हो—यी घटनाहरू किन भइरहेका छन् ? मानिसहरूलाई यस्तो अवस्थामा कसले पु¥याइरहेको छ ? उनीहरूको असन्तुष्टिलाई कसले प्रयोग गरिरहेको छ ?

नेपालमा पनि सिंहदरबार जलाउने नेपाली नै थिए । सर्वोच्च अदालत जलाउने नेपाली नै थिए । राष्ट्रपति भवनमा आगजनी गर्ने नेपाली नै थिए । तर नेपालीहरूले आफ्नै देशका संरचनामा आगजनी गरे भन्ने कुरा मात्रै घटनाको पूर्ण व्याख्या होइन ।

उनीहरूलाई त्यस्तो अवस्थामा पु¥याउने कारण के थिए ? उनीहरूको असन्तुष्टि कसरी बढ्यो ? आन्दोलनले किन हिंसात्मक रूप लियो? त्यसमा कसले कस्तो भूमिका खेल्यो ? यी प्रश्नहरू महत्वपूर्ण छन् ।

कुनै पनि देशमा सरकारसँग समस्या छ भने विरोध गर्ने विभिन्न लोकतान्त्रिक तरिका हुन्छन् । तर आफ्नै देशका संरचना र सम्पदाहरू ध्वस्त पार्ने अवस्था किन सिर्जना हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।

फ्रान्सलगायत युरोपमा पनि यही प्रश्न उठ्छ । के मानिसहरू आफ्नैं दिमागले मात्रै यस्तो गरिरहेका छन्, कि उनीहरूको असन्तुष्टिलाई अरूले पनि आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेका छ ?

यसभित्र हेर्दा ती मानिसहरूलाई प्रभावित गर्ने, उनीहरूको सोचलाई दिशा दिने र राजनीतिक असन्तुष्टिलाई उपयोग गर्ने प्रक्रियाबारे अमेरिकी गलत सोचले काम गरिरहेको छ ।

वास्तवमा अमेरिकाले युरोपको राजनीतिक अस्थिरताबाट लाभ लिन खोजिरहेको छ । तर यसलाई प्रमाणित गर्न घटनाविशेषका तथ्य, आर्थिक सम्बन्ध, राजनीतिक हस्तक्षेप र सञ्चारमाध्यमको भूमिकाबारे छुट्टाछुट्टै प्रमाण आवश्यक पर्छ ।

क्याम्ब्रिज एनालिटिका र सामाजिक सञ्जालको शक्ति

युरोपेली संघ र बेलायतबीचको सम्बन्धमा सामाजिक सञ्जालको भूमिका बुझ्न सन् २०१६ को ‘ब्रेक्जिट जनमतसङ्ग्रह’ र ‘क्याम्ब्रिज एनालिटिका प्रकरण’लाई पनि हेर्नुपर्छ ।
‘क्याम्ब्रिज एनालिटिका प्रकरण’मा फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत तथ्याङ्क कसरी संकलन र प्रयोग गरियो भन्ने विषयमा ठूलो विवाद भएको थियो । यसले राजनीतिक अभियानहरूमा व्यक्तिगत तथ्याङ्क र डिजिटल प्रविधिको प्रयोगबारे गम्भीर प्रश्न उठायो ।

ब्रेक्जिट अभियानमा सामाजिक सञ्जाल, राजनीतिक विज्ञापन र डिजिटल प्रचारको भूमिकाबारे पनि व्यापक बहस भएको थियो ।

वास्तवमा सामाजिक सञ्जालको एल्गोरिदम र राजनीतिक प्रचारको शक्तिलाई बुझ्नुपर्छ ।

कसले कुन सामग्री देख्छ ? कुन सामग्री धेरै मानिससम्म पुग्छ ? कुन विचारलाई बढी फैलाइन्छ ? मानिसको आक्रोशलाई कसरी बढाइन्छ ?

यी सबै प्रश्न राजनीतिक रूपमा महत्वपूर्ण छन् । फेसबुक र अन्य सामाजिक सञ्जालको तथ्याङ्क प्रयोगबारे विवादहरू भइरहेकै बेला एलन मस्कले ट्विटर किने र त्यसलाई एक्समा रूपान्तरण गरे ।

एल्गोरिदमको शक्ति कति हुन्छ भन्ने कुरा मस्कले बुझेका छन् ।

आज नेपालीहरू पनि एक्समा छन् । त्यहाँ विभिन्न राजनीतिक विचार, समाचार र विवादहरू फैलिन्छन् । कतिपय सामग्रीमा गलत सूचना, अपमानजनक अभिव्यक्ति र उत्तेजक प्रचारसमेत देख्न सकिन्छ ।

त्यसैले सामाजिक सञ्जालको एल्गोरिदमले जनमत निर्माणमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।

युरोप किन अस्थिर हुँदै छ ? आप्रवासी मात्रै दोषी हुन् ?

युरोपका समस्याहरूलाई आप्रवासीहरूका कारण मात्रै भएको भनेर व्याख्या गर्नु अपूर्ण हुन्छ ।

आप्रवासनले केही देशमा आवास, सार्वजनिक सेवा, रोजगारी र सामाजिक समायोजनसँग सम्बन्धित चुनौतीहरू सिर्जना गर्न सक्छ । तर युरोपको राजनीतिक अस्थिरता, सामाजिक असन्तुष्टि र हिंसाको व्याख्या गर्दा अन्य पक्षहरूलाई पनि हेर्नुपर्छ ।

आर्थिक असमानता, जीवनयापनको बढ्दो लागत, बेरोजगारी, राजनीतिक ध्रुवीकरण, दक्षिणपन्थी राष्ट्रवाद, सामाजिक सञ्जालमा फैलिने गलत सूचना र सरकारप्रतिको अविश्वास पनि महत्वपूर्ण कारक हुन सक्छन् । कुनै पनि घटनाको कारण पत्ता लगाउन प्रमाण आवश्यक हुन्छ ।

वास्तवमा आप्रवासीहरूलाई मात्रै दोष दिएर युरोपका सबै समस्याको व्याख्या गर्न खोज्नु गलत हो। यसले वास्तविक आर्थिक तथा राजनीतिक स्वार्थलाई ओझेलमा पार्न सक्छ ।

यसका साथै युरोपमा भइरहेको हरेक हिंसात्मक घटनाको पछाडि अमेरिका नै छ भन्ने निष्कर्षमा पुग्न पनि प्रत्यक्ष प्रमाण चाहिन्छ । राजनीतिक स्वार्थको विश्लेषण गर्नु र कुनै देशले हिंसा गराएको ठोकुवा गर्नु एउटै कुरा होइन ।

युरोपेली संघ टुक्रियो भने कसलाई फाइदा हुन्छ?

युरोपेली संघका देशहरू अलग–अलग भए भने उनीहरूको सामूहिक आर्थिक र राजनीतिक प्रभाव कमजोर हुन सक्छ । साझा बजार, साझा नियम र सामूहिक वार्ताको शक्तिले युरोपेली देशहरूलाई विश्व अर्थतन्त्रमा ठूलो भूमिका दिएको छ ।

यदि साझा नियम कमजोर भए भने विभिन्न देशले छुट्टाछुट्टै आर्थिक सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । यसले ठूला शक्तिहरूलाई प्रत्येक देशसँग अलग–अलग व्यवहार गर्ने अवसर दिन सक्छ ।

युरोपेली संघलाई कमजोर बनाउने राजनीतिक प्रयासबाट बाह्य शक्तिहरूले लाभ लिन सक्ने सम्भावना छ ।

युरोपेली संघको बजारमा अमेरिकी कम्पनीहरूले औषधी, खाद्य उत्पादन, सवारीसाधन र अन्य सेवाहरू बेच्न चाहन्छन् । उनीहरूका लागि नियमन, बजार पहुँच र प्रतिस्पर्धाका नियमहरू महत्वपूर्ण छन् ।

त्यसैले युरोपेली संघका नियमहरूबारे हुने बहसलाई केवल कर्मचारीतन्त्रको प्रश्नका रूपमा मात्र होइन, आर्थिक शक्तिसम्बन्धी प्रतिस्पर्धाको रूपमा पनि हेर्नुपर्छ ।
वास्तवमा युरोपेली संघ टुक्रियो भने अमेरिकाको पूर्ण आधिपत्य कायम हुन्छ भन्ने देखिन्छ । त्यसको परिणाम युरोपेली देशहरूको राजनीतिक निर्णय, आर्थिक अवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा निर्भर हुनेछ ।

अन्तिम प्रश्नः नेपाल किन जल्यो र युरोप किन जलिरहेको छ ?

अब मूल प्रश्नमा फर्कौँ।

नेपालमा सिंहदरबार, सर्वोच्च अदालत र अन्य संरचनामा आगजनी गर्ने मानिसहरू नेपाली नै थिए । युरोपमा पनि आफ्नै देशका संरचनामा आगजनी गर्ने मानिसहरू त्यही देशका नागरिक हुन् तर केही आप्रवासीहरु पनि होलान् ।

तर मानिसहरूले आफ्नै देशका संरचनामाथि आक्रमण गरे भन्ने दृश्यले मात्रै त्यसको कारण बताउँदैन । त्यसका पछाडि राजनीतिक असन्तुष्टि, सामाजिक तनाव, आर्थिक स्वार्थ, गलत सूचना, उत्तेजक प्रचार र नेतृत्वको भूमिका हुन सक्छ ।

वास्तवमा युरोपलाई कमजोर बनाउने, युरोपेली संघलाई टुक्र्याउने र त्यसबाट आर्थिक तथा राजनीतिक लाभ लिने स्वार्थहरूबारे गम्भीर अध्ययन गर्न आवश्यक छ ।
एलन मस्क र डोनाल्ड ट्रम्पका भनाइहरू, युरोपेली संघप्रतिको उनीहरूको आलोचना, अमेरिकी कम्पनीहरूको बजारसम्बन्धी चासो र रक्षा खर्च बढाउन दिइएको दबाबलाई यसै सन्दर्भमा हेर्नुपर्छ ।

युरोपेली देशहरू कमजोर भए भने बाह्य शक्तिहरूलाई आफ्नो स्वार्थ अघि बढाउन सजिलो हुन सक्छ भन्ने विश्लेषण तथ्यपूर्ण देखिन्छ ।

युरोपेली संघका देशहरू टुक्राटुक्रा भए भने अमेरिकाको प्रभाव बढ्न सक्छ भन्ने चिन्ता बढेर गएको छ । तर युरोपमा भइरहेका हिंसात्मक घटनाहरू कसले गराएको हो भन्ने निष्कर्ष निकाल्न घटनाविशेषका प्रमाणहरू आवश्यक हुन्छन् ।

अन्ततः कुनै पनि देशको राजनीतिक संकट बुझ्न सतहमा देखिएका घटनाहरू मात्रै हेरेर पुग्दैन । त्यसका पछाडिको आर्थिक संरचना, राजनीतिक स्वार्थ, सामाजिक असन्तुष्टि र जनमत निर्माण गर्ने माध्यमहरूको पनि अध्ययन गर्नुपर्छ ।

राज पुष्पले युट्युबमार्फत् गरेको विश्लेषणको सारांश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार