
अमेरिकी सेनाले जोर्डनको सैन्य क्याम्पमा भएको ड्रोन आक्रमणको जवाफमा शुक्रबार सिरिया र इराकसमर्थित क्याम्पहरू हवाई हमला गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार, सिरियामा अमेरिकी हवाई आक्रमणमा परी ६ मिलिसिया लडाकु मारिएका छन् । यीमध्ये तीन जना गैर-सिरियाली हुन् ।
अमेरिकी सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार, शुक्रबार इराक र सिरियामा ईरान रिभोल्युसनरी गार्ड्स र ऊसमर्थित मिलिसियासँग जोडिएका ८५ भन्दा बढी शिविरमा जवाफी आक्रमण गरिएको हो ।
गत साता जोर्डनमा सैन्य क्याम्पमाथि ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिक मारिएका थिए भने अन्य ४० जना घाइते भएका थिए । यसपछि राष्ट्रपति जो बाइडेनले इरानसमर्थिन समूहविरुद्ध जवाफी कारबाही गर्ने बताएका थिए ।
मध्यपूर्वमा तनाव बढ्ने आशंका
अहिलेसम्म अमेरिकी सेनाले इरानको सीमाभित्र कुनै पनि क्याम्पलाई निशाना बनाएको छैन । तर अमेरिकाको जवाफी आक्रमणपछि मध्यपूर्वमामा तनाव थप बढ्ने आशंका गरिएको छ । गाजामा तीन महिनादेखि चलिरहेको इजरायल–हमास युद्धका कारण यस क्षेत्रमा पहिल्यैदेखि तनावको स्थिति छ ।







