मिङ गिरोहका दर्जनौँ सदस्यलाई गत वर्ष सजाय सुनाइएको थियो

म्यान्मारबाट विभिन्न खालका ठगीधन्दा सञ्चालन गर्ने एउटा कुख्यात गिरोहका ११ जनालाई चीनमा मृत्युदण्ड दिइएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनको जेजिआङ प्रान्तस्थित अदालतले हत्या गरेको, बन्धक बनाएको, ठगी गरेको र जुवाघर चलाएको अभियोगमा उनीहरूलाई गत सेप्टेम्बर महिनामा दोषी ठहर गर्दै सजाय सुनाएको थियो। उनीहरू सबै मिङ परिवारका सदस्य हुन्।

चीनको सीमानजिकै म्यान्मारमा अवस्थित लाउकाइङ सहरमा केही अन्य गिरोहसहित मिङ परिवारको पनि वर्चस्व थियो। लाउकाइङ कुनै बेला निकै विपन्न र पिछडिएको थियो। उनीहरूको नियन्त्रणमा आएपछि उक्त ठाउँको कायापलट भयो र त्यहाँ जुवाघर तथा वेश्यालयहरू खुले।

सन् २०२३ मा म्यान्मारका अधिकारीहरूले उनीहरूलाई पक्राउ गरेर चीनलाई बुझाएपछि ठगीधन्दा गर्ने मिङ परिवारको साम्राज्य धराशायी भयो। बेइजिङले दबाव दिएपछि म्यान्मारले उक्त कारबाही गरेको थियो।

म्यान्मारबाट सञ्चालित ठगीधन्दामा वर्षौँदेखि हजारौँ चिनियाँ कामदारहरू फसेका छन्। चीनबाट तस्करी गरेर स्क्याम सेन्टरहरूमा ल्याइएका मानिसलाई विदेशमा बस्ने व्यक्तिहरूलाई ठग्ने काममा बलपूर्वक लगाइन्छ।

झन्डै डेढ अर्ब डलरको साम्राज्य

गत वर्ष कार्यक्रम गर्न भनेर थाईल्यान्ड उडेका एक चिनियाँ कलाकारलाई म्यान्मारस्थित स्क्याम सेन्टरमा लगिएको घटनाबारे चिनियाँहरूले इन्टरनेटमा धेरै सोधखोज गरे।

त्यस्ता घटनाहरूले बेइजिङ चिढियो। चीनले पहिलादेखि नै म्यान्मारका सैन्य शासकहरूसँग स्क्याम माफिया नियन्त्रण गर्न माग गर्दै आएको थिय।

चीनको उच्च अदालतका अनुसार मिङ माफियाले सञ्चालन गरेका ठगीधन्दा र जुवाघरहरूबाट सन् २०१५ देखि २०२३ सम्म १० अर्ब यूआनभन्दा बढी (झन्डै १.४ अर्ब अमेरिकी डलर) कमाइ भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार