२०८२ माघ १७ गते

काठमाडौं । कजाखस्तानकी टेनिस खेलाडी एलेना रिबाकिनाले महिलातर्फ अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्। रोमाञ्चक फाइनलमा उनले विश्व नम्बर एक आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै आफ्नो करियरको पहिलो अस्ट्रेलियन ओपन उपाधि हात पारिन्।
पाँचौं वरियताकी रिबाकिना फाइनलको निर्णायक तेस्रो सेटमा ३–० ले पछि परेकी थिइन्। तर उनले उत्कृष्ट पुनरागमन गर्दै लगातार पाँच गेम जितिन् र ६–४, ४–६, ६–४ को जित निकालिन्। यससँगै उनले सन् २०२३ को फाइनलमा साबालेन्कासँग बेहोरेको हारको बदला पनि लिइन्।
साबालेन्काले दोस्रो सेटको अन्त्यतिर र तेस्रो सेटको सुरुवातमा रिबाकिनाको सर्भ तोड्दै खेलमा नियन्त्रण जमाएकी थिइन्। तर खेलको अन्त्य नजिकिँदै जाँदा उनले लय गुमाइन् र केही अनावश्यक गल्ती गरेपछि रिबाकिनाले पुनः सर्भ ब्रेक गर्दै अग्रता लिइन्।
२६ वर्षीया रिबाकिनाले दबाबका बीच संयमित खेल प्रस्तुत गर्दै अन्तिम गेममा एस प्रहारसहित खेल समाप्त गरिन्। यससँगै उनले सन् २०२२ को विम्बल्डनपछि आफ्नो करियरको दोस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन्।
यस हारसँगै युएस ओपन च्याम्पियन साबालेन्काले पछिल्ला चार ग्रान्डस्लाम फाइनलमध्ये तेस्रो पटक उपाधि गुमाएकी छन्।







