काठमाडौं

भारतको गाजियाबादस्थित तिलामोड क्षेत्रमा एउटा हृदयविदारक घटना घटेको छ, जहाँ एउटै परिवारका तीन नाबालिग दिदीबहिनीले ९ औं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।
तीन छोरीको मृत्युले पारिवारिक त्रासदी निम्त्याएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटनापछि प्रहरी घटनास्थलमा पुगेर शव कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ र घटनाको अनुसन्धान शुरू गरेको छ।
समाचारअनुसार यी तीन दिदीबहिनीहरू विगत केही महिनादेखि अनलाइन गेमिङको लतमा फसेका थिए ।
अनलाइन ट्रेडिङमा काम गर्ने र तीन वर्षदेखि भारत सिटी सोसाइटीमा भाडामा बस्दै आएका चेतन कुमारका १६, १४ र १२ वर्षका तीन छोरीहरूले आत्महत्या गरेको अमर उजाला ले जनाएको छ ।
रिपोर्टका अनुसार, चेतन कुमारका तीन छोरीहरूले एकसाथ आत्महत्या गरेका हुन् । घटना मंगलबार राति करिब २:३० बजे भएको थियो।
चेतन कुमार आफ्नी श्रीमतीसँग अर्को कोठामा सुतिरहेका थिए।
तीनै दिदीबहिनीले आफ्नो कोठाको झ्यालबाट हाम फालेका हुन् । तीनै दिदीबहिनीले कोभिड-१९ महामारीपछि पढाइ पनि छोडेका थिए ।







