पाँच वर्षअघि सत्ताच्युत गरिएका र मारिएका लिबियाली शासक कर्णेल मुअम्मर गद्दाफीलाई अहिले लिबियाली जनताले सम्झिन थालेका छन्। १९६९ देखि ४२ वर्ष लामो शासन गरेका गद्दाफी २०११ को अक्टोबर २० का दिन नेटो समर्थित विद्रोहीहरुको हातबाट मारिएका थिए।

लिबियामा कार्यरत सञ्चारमाध्यमले मुलुकमा अराजकता व्याप्त भएको, खाद्यान्न आदिमा पाँच गुणा महंगी बढेको, लोडसेडिङले ग्रस्त भएको, कर्मचारीहरुको महिनौँसम्म तलब नदिइएको अवस्था रहेको रिपोर्ट गरिरहेका छन्। त्यसैले अहिलेको जिन्दगीभन्दा गद्दाफी अन्तर्गतको लिबियाको जीन्दगी कैँयौ गुण राम्रो भएको मानिसहरु ठान्दछन्।

सन्डे मेल अनलाइनको रिपोर्टअनुसार लिबियालीहरु अहिले साँझ परेपछि घरबाट बाहिर निस्किन डराउँछन्। ‘म पहिलो दिनदेखि नै क्रान्तिमा होमिएको थिएँ र निरन्तर गद्दाफीको विरोधमा लडिरहेँ,’ ३१ वर्षीय एक पूर्व विद्रोही मोहम्मदले सन्डे मेललाई भनेका छन्, ‘२०११ अघि म गद्दाफीलाई सबैभन्दा धेरै घृणा गर्थेँ, तर अहिले जीवन निकै कठिन छ, साँच्चै कठिन, त्यसैले म उनको सबैभन्दा ठूलो फ्यान भएको छु।’

त्यसैगरी तेलखानीमा काम गर्ने ४१ वर्षीय हारुन भन्छन्, ‘गद्दाफीलाई हटाइनु सर्वथा गलत थियो किनभने हामी नै प्रजातन्त्रका लागि तयार थिएनौँ र अन्तर्राष्ट्रिय समुदायले पनि हामीलाई आवश्यक सहयोग गरेन।’

सन् २०११ मा बेलायत र फ्रान्सको नेतृत्वमा रहेको अन्तर्राष्ट्रि गठबन्धनले लिबियामाथि आक्रमण गरेको थियो। तत्कालीन बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले लिबियामाथि आक्रमण नागरिकहरुको कत्लेआमलाई रोक्न आवश्यक कदम थियो भनेर जिकिर गरेका थिए तर चार दशकभन्दा लामो शासनअवधिमा गद्दाफीले मानवअधिकार उल्लंघनका घटना नियमित घटाइरहे पनि कत्लेआम नगरेको प्रतिवेदनहरुले जनाएका थिए।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि परिणामका बारेमा पर्याप्त तयारी नगरी लिबियामा सैन्य हस्तक्षेप गर्नु गल्ती भएको पटकपटक स्वीकारिसकेका छन्।

एक युवा तेबु मोहम्मदले सन्डे मेललाई भनेका छन्, ‘वास्तविक लिबिया गद्दाफीसँगै मारियो, अब हामी राष्ट्र होइन लडाकुहरुको झुण्ड बनेका छौँ।’

सन् २०११ यता लिबियामा ७ वटा सरकार परिवर्तन भइसकेका छन्। अहिले एउटा निर्वाचित सरकारले पूर्वी लिबियाको शासन चलाइरहेको छ भने संयुक्त राष्ट्रसंघले समर्थन गरेको अर्को सरकारले त्रिपोलीबाट।

४८ वर्षीय अबसालेम भन्छन्, ‘त्यो लिबियाको क्रान्ति नै थिएन, त्यो त नेटोको क्रान्ति थियो किनभने गद्दाफीलाई हटाउनुपर्ने आवश्यकता उनीहरुलाई नै परेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार